पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

गर्मी बढेपछि मधेश प्रदेशमा विद्यालय बन्द हुँदै

२०८० जेठ १८, बिहीबार २०:५२ बजे

जनकपुरधाम–अत्यधिक गर्मी बढेपछि मधेश प्रदेशमा विद्यालयहरु बन्द हुन थालेका छन् । गर्मीले बालबालिकालाई स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै स्थानीय तहहरुले विद्यालय बन्दको निर्णय गर्न थालेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सिरहाको लाहान नगरपालिका र सप्तरीको राजविराज नगरपालिकाले सूचना जारी गर्दै गर्मीको कारण केही दिनका लागि विद्यालय बन्द गरेको जनाएका छन् । जनकपुरधाम उपमहानगरले शुक्रबारदेखि २६ जेठसम्म विद्यालय बन्द गरेको छ । गर्ने जनाएको छ । सिरहाको लहान नगरपालिकाले पनि शुक्रबारदेखि २६ जेठसम्म विद्यालय बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले सूचना जारी गर्दै भनेकी छन्, ‘‘वर्षे विदाबाट कट्टा हुने गरी यस नगरपालिका अन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्म सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा सबैको जानकारीको लागि निर्देशानुसार सूचना प्रकाशन गरिएको छ।’ यस्तै सप्तरीको राजविराज नगरपालिकाले अत्यधिक गर्मीको कारण पाँच दिनका लागि विद्यालयहरु बन्दको घोषणा गरेको छ।भोलि जेठ १९ गतेदेखि २३ गतेसम्मका लागि सामुदायिक तथा संस्थगत विद्यालय बन्द रहने नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनाले जारी गरेको सूचनामा उल्लेख छ ।

तीन दिनयता मधेशमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। गर्मीले पठनपाठनमा समस्या हुन थालेपछि पालिकाहरुले धमाधम सूचना जारी गर्दै विद्यालय बन्द गर्न थालेको छ ।