पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

कन्ट्रक्सनहरुको बदमासीले निमार्ण कार्य अलपत्र–मेयर जयसवाल

२०७९ भाद्र १८, शनिबार १४:२९ बजे

कटहरीया–रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले आश्रय कन्ट्रक्सनको बदमासी एवं चरम लापरवाहीका कारण कटहरिया नगरपालिकामा विभिन्न किसिमका विकास निर्माण कार्य वर्षैदेखी अलपत्र परेको बताएका छन ।
आश्रय कन्ट्रक्सनले तिन वर्षअघि कटहरिया नगरपालिका भरीमा नाला निर्माण, छेदीचौकमा कोल्ड स्टोर निर्माण र वडा नं ५ कटहरियामा नगरपालिका भवन निर्माण गर्ने ठेक्का लिएपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढाउन नसक्दा करोडौंको विकास निर्माण कार्य अलपत्र परेको मेयर जयसवालले बताएका छन । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले शनिबार नगरपालिका कार्यालय कटहरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै आश्रय कन्ट्रक्सन र साह निर्माण सेवा लगाएत विभिन्न निर्माण सेवाको बदमासीको कारण करोडौं करोडौंको विकासको काम अलपत्र पर्नु दुखद भएको बताएका छन् ।
चौधरी कन्ट्रक्सनका सञ्चालक ठेकेदार महेन्द्र चौधरीले कटहरिया स्वाथ्य चौकीको भवन निर्माण गर्ने जिम्मा पाएको चार महिना जति भएपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढाउन नसकेको मेयर जयसवालले बताए । स्वाथ्य चौकी भवन निर्माण गर्ने जिम्मा पाएका ठेकेदार चौधरीले गत पुसमा नै नगरपालिकासग समभौता गरेको भएपनि अहिलेसम्म काम अगाडि बढाउन नसकेको उनले बताए ।
आश्रय कन्ट्रक्सनले कटहरिया बजारको भवनहरु पनि निर्माण गर्ने जिम्मा पाएको करिव दुई वर्षभन्दा बढी दिनभएपनि अहिलेसम्म भवनको कुर्सी निर्माण गर्ने बाहेक अरु केही गर्न नसकेको समेत उनले बताए । आश्रय कन्ट्रक्सनले नगरपालिकामा ढल निकासको जिम्मा पाएको र साह निर्माण सेवाले झाझपुल कटहरिया सडकखण्डको विभिन्न ठाउमा निर्माण गराएको कालोपत्रे भत्केको भएपनि पुन मर्मत सम्भार गर्न कुनै चासो नलिएको उनले बताए । नगरपालिका भरीमा विभिन्न ठेकेदार र निर्माण कम्पनीले विभिन्न किसिमका विकास निर्माण कार्य गर्ने जिम्मा पाएपनि जिम्मा पाएको वर्षौ वितेपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढाउन नसक्नु ठुलो विडम्बना भएको उनले बताए । ठेक्केदार र निर्माण कम्पनीका कारण कराडौंको विकासका कार्य अलपत्र परेका कारण नगरपालिकामा विकास निर्माणको कार्य गति लिन नसकेको उनले बताए ।