पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

अमेरिकामा १२ सय किलोको फर्सी !

२०८० आश्विन २९, सोमवार २०:०४ बजे

एजेन्सी :अमेरिकाको मिनिसोटास्थित एकजना बागबानी शिक्षकले सबैभन्दा ठूलो फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका छन् । उनले फलाएको फर्सीको तौल १२ सय ४७ केजी छ ।
क्यालिफोर्नियामा भएको ५० औं विश्व फर्सी च्याम्पियनसीपमा यो पटक मिनिसोटास्थित आनोकाका बागबानी शिक्षक तथा किसान ट्राभिस गिन्जरले फलाएको फर्सीले उपाधि जितेको छ ।
यो भीमकाय सुन्तला रंगको फर्सीलाई कम्तिमा ६८७ वटा गोलाकार टुक्रामा काट्न सकिन्छ । आफुले त्यति ठूलो फर्सी फलाएर किर्तिमान कायम गर्न सकुँला भनेर कुनै अपेक्षा नरहेको र अहिले निकै खुसी भएको ४३ वर्षीय गिन्जर बताउँछन् ।
पछिल्लो ३० वर्षदेखि फर्सी फलाउँदै आएका उनले गत वर्षसमेत अमेरिकाको सबैभन्दा ठूलो फर्सी फलाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । स्मरण रहोस् यसअघि विश्वको सबैभन्दा ठूलो फर्सीको विश्व कीर्तिमान इटालीका किसानको नाममा थियो । सन् २०२१ मा इटालीमा १२ सय २६ केजीको फर्सी फलेको थियो । इटालीयन फर्सीको कीर्तिमान भंग गरेका गिन्जरले यो पटक संसारकै ठूलो फर्सी फलाउनका लागि निकै मेहेनत गरे । उनले आफ्नो घर छेउमा रहेको करेसाबारीमा रोपेको फर्सीलाई निकै स्याहारसुसार गरे । दिनको १२ पटकसम्म पानी हाल्नुका साथै सधैभन्दा बढि मल तथा गोडमेल गरे । आनोका टेक्निकल कलेजमा बागबानी शिक्षक रहेका गिन्जरको घरमा फर्सी फलाउने पुस्तौनी काम हो । उनका बुवाले पनि फर्सीको खेती गर्दथे ।
त्यसैले गिन्जरले किशोरावस्थादेखि नै घरमा फर्सीको खेती सुरु गरेका थिए । तर फर्सी च्याम्पियनसीपमा भने उनी पहिलोपटक सन् २०२० मा मात्र सहभागी भएका थिए । यो पटक कीर्तिमानी फर्सीसँगै च्याम्पियनसीपमा उपाधि जितेसँगै उनले ३० हजार डलर पुरस्कार पाएका छन् ।