पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

२०८० भाद्र २४, आइतवार १८:१४ बजे

काठमाडौं–नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ ।
स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ । मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।
तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ । १२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन् ।
नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ ।
‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन । त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो’, क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको उनले बताए ।