पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

महाशिवरात्रिको महत्व र इतिहास

२०८० फाल्गुण २५, शुक्रवार ०७:५६ बजे

काठमाण्डौं : महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो ।
भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जबकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान् शिवको पूजा गर्ने विधान छ । भगवान् शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकाले संहार शक्तिका अधिष्ठातृ देवता हुन् ।
त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । यो हिन्दू धर्मावलम्बीहरूका लागि प्रमुख पर्व मानिन्छ । शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रूपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।
वैदिक मन्त्रहरूमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र आदि नामहरूबाट चारै वेदका ऋचाहरूमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणनाअनुसार ३० हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरूले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो ।
हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिँदैन, तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रूपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।
महाशिवरात्रिका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ॐ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिएको छ । भगवान् शिवका दृश्य जगत्मा पाँच मुख छन्, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र यी हुन् पशुपतिनाथका पाँच स्वरूप पृथ्वी, जल, तेज, वायु, आकाश चराचर जगत्, पाँच तत्व र मन, बुद्धि, चित्त, अहंकार, ऊर्जा, चेतना यही नै पशुपतिनाथको स्वरूप हो ।
संसारमा तीन प्रकारका शक्तिहरूले विशेष काम गरेका हुन्छन् । पहिलो शक्ति सृष्टि, दोस्रो पालन र तेस्रो संहार । शिवको हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप (आधिभौतिक, आध्यात्मिक र आधिदैविक) को समन गर्छ । सृष्टिको आदिधर्म भगवान् शिवबाट प्रतिपादित हुन्छ । आदिशास्त्र पनि त्रिशूल नै हो । त्रिशूल, वज्र, डमरु, पाश भगवान् शिवका आयुध हुन् ।
यस दिन शिवभक्तहरू शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल–पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राति जागरण बस्ने गर्छन् । शिवलिंगमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण बस्ने गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्छ । यस दिन शिवको विवाह भएको थियो भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले राति शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम् पर्व स्वयं परम्पिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो, जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाशतर्फ अथवा असत्यबाट सत्यतर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् ।
यस व्रतको विधानमा सबेरै नुहाएर शुद्ध भई उपवास गर्ने गरिन्छ । हिन्दूहरूले विभिन्न शिव मन्दिरहरूमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन–कीर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउने गरिन्छ ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातका रूपमा मनाउने हिन्दूहरूको परम्परा छ । यस रातलाई उनीहरू मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रूपमा लिने गर्छन् । मनिसहरूले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्न गरेमा पनि मुक्ति प्रदान गर्छ भनेर पुराणमा वर्णन गरेको पाइन्छ । इशान संहितामा वर्णित भएअनुसार शिवरात्रिको व्रत सबै मानिसहरू बस्न सकिन्छ र यहाँसम्म कि यस दिन व्रत बसेका कारणले चाण्डालपर्यन्तलाई पापमुक्त गरी आनन्द र मुक्त प्रदान गरेको भन्ने उल्लेख भएको पाइन्छ । भगवान् शिवको उत्पत्ति फाल्गुन कृष्ण चतुर्दशीकै दिनमा भएको हो ।
महाप्रलय हुँदा जसै सम्पूर्ण पदार्थ विनष्ट भएको थियो । भगवान् शंकरले ताण्डव नृत्य गर्नुका साथै आफ्ना डमरुको निनादले सम्पूर्ण वायुमण्डलमा ज्ञान–विज्ञानलाई सूक्ष्म सूत्ररूपले व्याप्त गरेका थिए भनिन्छ, त्यस बेलादेखि नै महाशिवरात्रिको महात्म्य आजसम्म सुरक्षित चल्दै आएको विश्वास गरिएको छ । यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतुरोको फूल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ । यदि नजिकमा शिवालय छैन भने शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ । राति जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ । व्रतको भोलिपल्ट बिहान सबेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो । यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ भन्ने किंवदन्ती रहेको छ । नेपालमा विशेष गरी महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थीहरूका लागि बिहानैदेखि खुल्ला हुने गर्छ । नेपाली जनजीवनमा शिवरात्रि पर्व लोकप्रिय भएको पूर्व मध्यकालदेखि हो भन्ने गरिन्छ । साथै श्री पशुपतिनाथसहित विश्वभरिका ज्योतिर्लिङ्ग एवम् शिव मन्दिरमा धूमधामका साथ महाशिवरात्रि पर्व मनाइन्छ ।
आनादि कालदेखि नै अस्तित्वमा रहँदै आएको विश्वास गरिने पशुपतिनाथको मन्दिर इसाको पहिलो वा दोस्रो शताब्दीतिर सुपुष्प देव राजाको पालामा स्थापित भएको मानिन्छ । पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुन सक्ने जानकारहरू बताउँछन् । यस महाशिवरात्रि पर्वमा विशेष गरी पशुपतिनाथमा ठूलो मात्रामा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्छ । सो दिन शिवालयहरूमा बिहानदेखि नै भक्तजनहरूको भिड लाग्ने गर्छ । बुटवलको सिद्धबाबामा, पाल्पाको पर्भासमा, गुल्मीको रेसुङ्गामा, पर्रोहा परमेश्वर बोलबमधाममा, ललितपुरको सन्तानेश्वरमा, काभ्रेको साँगामा, प्युठानको स्वर्गद्वारीमा, उपत्यकामा पशुपतिनाथ, कुम्भेश्वरमा, भक्तपुरको डोलेश्वर महादेवलगायत नेपालका शिवालयहरूमा उक्त दिन निकै मात्रामा भक्तजनको भीड हुने र महादेवलाई नैवद्य, पञ्चामृत, फलफूल चढाई पूजा गरी मन्दिरअगाडि बिहानैदेखि धुनी जगाई भक्तजनहरू मनोरञ्जन पनि गर्छन् । यसरी मानिसहरूको व्यापक रूपमा आवतजावत र घुमफिर हुने हुँदा यसबाट लाभ लिने अवसर पनि हो । महाशिवरात्रि पर्वबाट नेपालले मूलतः केही लाभ लिन सक्ने देखिन्छ ।