पाठशाला न्यूज
 २०८१ आश्विन ३, बिहीवार    

तातो हावा तथा लूबाट कसरी बच्ने ?

२०८० जेष्ठ २१, आइतवार १५:३७ बजे

काठमाडौँ–विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।

आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । तसर्थ, देशका तराई भू–भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन महाशाखाको अनुरोध छ ।
तातो हावा तथा लूबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने सम्भावित असरहरू देखिन सक्छन् ।

सो बाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ ता–तो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने । स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाको अनुरोध छ ।