पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेपालको वायु प्रदूषण जोखिमको स्तरमा

२०८० चैत्र ३०, शुक्रवार ११:२७ बजे

काठमाडौं : अहिले देशभर नै तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने मौसमविद बताउँछन् ।
बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा हावाहुरीसहित वर्षा भएको थियो । त्यो वर्षाले प्रदूषण केही कम भने गरेको थियो ।
‘धेरै स्थानमा अहिले पनि डढेलो लागिरहेको छ, हावामा धुवाँ, धुलो कायमै छ । त्यसैले देशभर नै तुवाँलो देखिएको छ,’ महाशाखाका मौसमविद रोजन लामिछानेले भने । हिजोको पानीले प्रदूषण केही मात्रामा घटेको जस्तो देखिए पनि वासआउट भने गरेन ।’
अघिल्ला दिनहरुमा नेपालमा प्रदूषणको स्तर ह्वात्तै बढेर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको थियो । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो ।
बिहीबार साँझ पानी परेपछि केही मात्रामा प्रदूषण घटे पनि शुक्रबार बिहान एक्यूआई १७३ सम्म पुगेको छ । यो भनेको अहिले पनि नेपालको वायु प्रदूषण जोखिमको स्तरमा छ भन्ने हो । त्यसैले वायु प्रदूषणको हिसाबले नेपाल शुक्रबार बिहानसम्म भारत र चीनपछि तेस्रो स्थानमा छ ।