पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

सरकारको आम्दानीभन्दा खर्च दुई खर्बले बढी

२०८१ जेष्ठ २, बुधवार ०७:५६ बजे

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपैयाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व संकलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।
कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । जसमध्ये कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपैयाँ आम्दानी भएको छ ।
यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपैयाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।