पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

तीज, गणेशचौथी तथा ऋषिपञ्चमी महत्व

२०८० आश्विन १, सोमवार ०८:५२ बजे

काठमाण्डौं–तीज हिन्दु नारीले मनाउने महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा नेपाली नारीहरूले भगवान शिवको पूजा आराधनाका साथै नाचगान तथा मनोरञ्जनसमेत लिने गर्छन् । आजकल तीजमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यस वर्षको तीज सङ्क्रन्तिका दिन वा आश्विन १ गते सोमबार, चतुर्थीयुक्त रहेको छ । हरितालिका तीज र गणेशजीको जन्म मङ्गल चतुर्थी एकैदिन परेको छ । यो अत्यन्त दुर्लभ घटना हो । यस सम्बन्धमा शास्त्रमा : चतुर्थी सहिता यातु याततिपा फलप्रदा । अवेध्या परा प्रबधिनां पौत्र पौत्रा प्रभर्दति ।। अर्थात् चतुर्थीयुक्त तीजम जसले श्रद्धाभक्तिपूर्वक शिव–पार्वतीको पूजाआराधना गर्छ उसले कैहिल्यै विधवा हुन पर्दैन र छोरा, नाति, नातिनाले परिपूर्ण हुने छन् भनिएको पाइन्छ ।
गणेशचौथी
स्कन्द पुराणअनुसार भगवान गणेशजी शिव पार्वतीका पुत्र हुन् । यिनको जन्म तीजको भोलिपल्ट अर्थात भाद्रशुक्ल चौथी मङ्गलबारका दिन भएको भन्ने पाइन्छ । यो चौथी कहिले मङ्गलबार पर्छ कहिले पर्दैन । यसैले विश्वभरिका हिन्दु धर्मावलम्बीले गणेशचौथी पूजा, पाठ, आराधना आदि गरी मनाउने गरिन्छ । यसरी गणेशको पूजापाठ गर्दा–
‘हे ! गौरी सुत हे ! प्रभो गणपते हे ! अष्टसिद्धिपते ।
हे ! गुरो गजवक्त्र हे ! गुणनिधे हे ! ऋद्धिबुद्धि पते’ ।।
भन्दै स्तुति गरिन्छ ।
यसै गरी हिन्दु परम्परामा हरेक दिन वा धार्मिक कार्य सम्पादन गर्न लाग्दा आँटेको कार्य सिद्ध होस् भनी विघ्नहर्ताका रूपमा पहिला गणेशको पूजा गर्ने चलन छ । उहाँको पूजा आराधना गर्दा तलको स्तुति भन्ने चलन छ । हुन त गणेशजीको स्तुति धेरै हुन सक्छन् । तर पनि प्रतिनिधिमूलक रूपमा यहाँ एउटा स्तुति श्लोक दिइएको छ ।
विग्नेश्वराय बरदाय सुरप्रियाय लम्बोधराय सकलाय जगद्धिताय ।
नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ।।
यस दिनलाई नेपाली गाउँघरमा खाल्सा पनि भनेको सुनियो । गणेश चौथी, गणेशको जन्मदिन, गणेशको पूजापाठ गर्ने कुरा हाम्रा अगुवाहरूले सिकाएनन् कि अथवा सिकाएर पनि हामीले अनुसरण गरिएन कि ।
यस दिन पनि नेपाल र विदेशका प्रसिद्ध गणेश मन्दिरहरूमा भगवान गणेशको आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । केही भक्तजनहरूले यस दिनदेखि अनन्तः चतुर्दशीसम्म (दस दिन) गणेशोत्सव मनाउने परम्परा पनि पाइन्छ ।
ऋषिपञ्चमी
भाद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको छ । यो पञ्चमी तीज पर्वको अन्तिम दिन हो । शस्त्रअनुसार रजस्वला भएका महिलाहरूले रजदोष निवारणका लागि ऋषिहरूसँग गरिने क्षमा प्रार्थना हो । रजस्वला भएको समयमा गर्भ रहन गएमा गर्भको शिशु अस्वस्थ हुने वा अपाङ्ग हुने र आमा पनि कमजोरी हुने हुनाले यसो भनिएको हुन सक्छ । यसरी छुट्टै बस्ने अवधारण रहेको अवस्थामा पनि अन्जानवश कसैलाई छोइए त्यसको दोष लागेको हुन सक्छ । उक्त दोषबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा अपामार्ग (दतिवन) टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्छ भनिएको छ । यसको मतलब ज्यादै नै शुद्धतालाई जोड दिएको पाइन्छ ।
यो पर्वको सांस्कृतिक कथन र महिलाहरूले रजदोषका बारेमा ऋषिहरू समक्ष क्षमा प्रार्थना गर्ने अरू धेरै प्रसङ्ग हुन सक्छन् । त्यसमध्ये प्रतिनिधिमूलक एउटा प्रसङ्ग यस्तो छ ः
शिव महापुराणमा उल्लेख भए अनुसार सन्ध्या, ब्रह्माजीकी एक मात्र मानस पुत्री, रजदोषका कारण चन्द्रभाग नदीकिनारमा तपस्या गर्न गइन् । ब्रह्माले तपस्यामा सघाउन वशिष्ठ ऋषिलाई अह्राए । सन्ध्या तपस्याबाट ब्रह्मलिन भइन् र पुनर्जन्म हुँदा उनको नाम अरुन्धती भयो रे । सूर्यदेव र संज्ञाबाट शिक्षादीक्षा प्राप्त गरिन् । शिक्षादीक्षाका क्रममा शिवजीबाट चारवटा वरदान पाइन् ।
तिनै वरदानका क्रममा वशिष्ठसँग विवाह भयो । पूर्वजन्ममा पनि रजदोषका कारण तपस्या गर्नु परेको हुनाले अरुन्धतीले यस जन्ममा पनि रजदोष निवारणका लागि सप्तऋषिसँग क्षमा प्रार्थना र पूजा गरिन् भन्ने पाइन्छ । सप्तऋषिहरूले भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीको आग्रहलाई स्वीकार गरे र अब उप्रान्त जगतमा आपूmहरूसँगै अरुन्धतीको पनि पूजा आराधना हओस् भन्ने वरदान दिए भन्ने पाइन्छ । यसैले सोहीबमोजिम आजसम्म सप्तर्षिहरूसँगै अरुन्धतीको पनि पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा निम्न श्लोकको स्तुति गाइन्छ ।
सप्त ऋषिस्तुति :ॐ वशिष्ट, कष्यपो अत्रि, जमदग्नि च गौतम । विश्वामित्र भारध्वज सप्तर्षि च रुन्धती ।
यसैले ऋषिपञ्चमीमा अरुन्धतीले गरेको रजदोष निवारण गरेको सम्झनामा उनै अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गर्ने परम्परा रहिआएको पाइन्छ ।