पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

रौतहटमा जग्गा बिबाद हुदाँ एकको मृत्यु

२०८० फाल्गुन १२, शनिबार ११:४२ बजे

सञ्जय मिश्रा 

रौतहट : रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन् ।
दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ ।