काठमाडौं- दसैँको अवसर पारेर यही असाेज २४ गते (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ले शनिवारसम्म ३ दिनमा ५ करोड रुपैयाँ कमाइसकेको छ।
फिल्म निर्माता दीपकराज गिरीले फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरेको बताएका छन्।
‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो। यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।
फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन्।