पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

रौतहटमा जग्गा हड्प्ने गिरोह सक्रिय

२०८० कार्तिक १, बुधवार १८:०७ बजे

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर चार स्थित अलपाइन होटलमा जग्गा ठगी प्रकरण बिरुद्ध पिडितहरुले पत्रकार सम्मेलन गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर आठमा बसोबास गर्दै आइरहेका अर्जुन चौधरी बर्ष ३० का एक युवाले आफु ठगिएको व्यहोरा पत्रकार सम्मेलन गरि बताएका हुन् ।
व्यवसाय गर्न भनि चौधरी एनएमबी बैंक र सनराईज बैंकमा ऋण लिन पटक पटक जाँदा ऋण नपाए पछि निजहरुको व्यवसाय गर्ने योजना सफल हुन सकेन । त्यसको भरपुर फाईदा लिदै पछिल्लो समय जग्गा ठगी गर्नेहरूको एक समुहले निज चौधरीलाई सम्पर्क गरि तिमिहरुलाई बैंकले पत्याउँदैन तिम्रो जग्गा मेरो नाममा पास गर म बैंकमा मेरो नाममा अलि बढी ऋण लिएर तिमीलाई आवश्यक रु २० बिस लाख दिन्छु,म पनि चलाउछु भनि जग्गा पास गरेर लिएका थिए । जग्गा पास गरी लिएपछि निज पिडित चौधरीलाई पिडकले जग्गा पास गरेको सात महिना बितिसक्दा पनि न त पैसा दिए न त जग्गा फिर्ता गरे । व्यवसाय गर्ने सपना बोकेर हिडेका पिडित अर्जुन चौधरीको सपना सपनामा नै सिमित रह्यो ।
रौतहट शिवनगर घर भै हाल चन्द्रनिगाहपुरमा व्यवसाय गर्दै आईरहेका बर्ष ३५ का ओमनाथ गिरि ले निज अर्जुन चौधरीको ५ कठ्ठा १० धुर हालको बजार मुल्य करिब ३ करोड भन्दा बढी मुल्यको जमिन हडपेर पिडितलाई घरबारविहीन बनाएका छन् ।
निज पिडितले पटक पटक आफ्नो जग्गा फिर्ता गरिपाउँ भनि पिडकसँग ताकेता गर्दा फेरि कथामा अर्को मोड आउँछ । पिडक र पिडितको यस अघि चिनजान थिएन, चिनजान गराउने एक जना बिचौलिया थिए । ति हुन् चन्द्रपुर नगरपालिका वडा नं. २ का रवि प्रसाद साह । पिडकले बिचौलिया साहको माध्यमबाट अर्जुन जस्ता पिडितहरुको जग्गा सङ्कलन गर्ने र हडप्ने कार्य गरे । जग्गा हड्पिसकेपछि बिचौलियालाई मोटो रकम दिएर जग्गा धनिलाई भोलि पर्सि भन्दै पिडितले सात महिना सम्म झुट मात्र बोलिरहे । पिडितले हाल आफ्नो जग्गा फिर्ता माग्दा बिचौलिया साहले लिएको मोटो रकम दिलाइदेउ जग्गा फिर्ता गरिदिन्छु भन्दै उल्टो पिडितलाई सास्ती दिन सुरु गरे । फेरि एक पटक पिडित अर्जुन चौधरीको सपनामा तुषारापात भयो । अर्जुन आफ्नो सपना छोडेर गुमेको जमिन फिर्ता गर्न सहयोगको खोजीमा बिभिन्न पार्टीका नेताहरुको घर धाउन थाल्छन् तर निराश अर्जुन घर भित्रको मानसिक तनाव खप्न नसकि आत्माहत्या सम्मको सोच बनाए । अन्तमा साथीहरुको सल्लाहले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरि न्यायको लागि लड्ने निधो गरे ।
बिचौलिया रवि प्रसाद साह र पिडक ओमनाथ गिरिको जालझेलमा घरबारविहीन अर्जुन चौधरी एक उदाहरण मात्र हुन् । गिरि जस्ता जग्गा ठगीमा सामेल भू–माफियाहरूको एउटा ठूलो जमात जिल्ला भरि सक्रिय छन् । केहि समय अगाडी एनआइसि एसिया बैंकले ठग्यो भन्दै रोइकराइ गर्ने एक हुल भू–माफियाहरुले अरुको जमिन आफ्नो नाममा गरेर बैंकबाट कृषिको नाममा ३० करोड भन्दा माथि ऋण लिएर अर्जुन जस्ता जग्गा धनिहरुलाई घरबारविहीन बनाउने षड्यन्त्रको पर्दाफास छिट्टै हुने क्रममा छ । पिडितहरुलाई केहि समय मागेर जग्गा बैंकबाट निकाली पास गरिदिने आश्वासन पछि यो षड्यन्त्र केहि समयको लागि थामथुम भएपनि पिडितहरुको चिन्ता भने चाडबाडको बेलामा अझै सकिएको छैन ।
पछिल्लो समय यसरी सर्वसाधारणको जग्गा ललाई फकाई हड्पेर बैंक ऋण लिने र साँवा व्याज भुक्तानी नगरी जग्गा धनिलाई घरबारविहीन बनाईदिने भू–माफियाहरूको बढ्दो चलखेलबाट सचेत हुनुपर्ने उदाहरण अर्जुनको कथाबाट स्पष्ट बुझिन्छ ।
आर्थिक मन्दीको मार खेपिरहेको युवा पुस्ताहरुको हतासले यस्ता दुर्घटना हुनबाट जोगिनुपर्ने देखिन्छ । चर्को मिटर व्याजको जाल यिनै गिरी जस्ता भू–माफियाहरूको सञ्जालबाट स्थापित हुने र मारमा पर्ने युवाहरुले आत्महत्या गर्नुपर्ने स्थितिले समाजमा यस्ता घटना हुनबाट युवाहरु स्वयम् सचेत हुनुपर्ने देखिन्छ ।

(पिडक बिरुद्धको प्रमाण पाठशाला न्युज सँग सुरक्षित छ )