पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

कविता - नायकको खोजी...!

२०८१ जेष्ठ २६, शनिवार ०८:३५ बजे

कविता 

नायकको खोजी.........!

            - राम उदित 

छातिभरि आगो झोसेर विद्रोहको

आज अचानक

कहाँ हरायौ मेरो नायक 

एकै तातो स्पर्शले मेरो रोमरोम 

उत्तेजित तुल्याएर आज अचानक

कहाँ बिलायौ मेरो नायक 

पैतालाभरि छोडेर

भत्केको गोरेटो

र अनकन्टारको जङ्गल

आँखाभरि रोपेर

असङ्ख्य सपनाहरू

पाखुरीभरि भरेर नौलो सहास

हृदयभरि खोपेर

अनगिन्ती प्रेमिल अक्षरहरू

ओठभरि टाँसेर 

युगान्त गीतहरू 

पहिर्याएर यो कायालाई

विचारको सुरक्षा कवच

नदीले छोडे झैँ ढुङ्गाहरू

सुटुक्क 

यो निरव शून्यतामासँगै

कसरी बादलमै छाडेर हिँड्न सक्यौ?

इन्द्रेणीका पाइलाहरू

यी अनेक मुद्दाहरु सडकको 

फोहोरको थुप्रोमा

असरल्ल छाडेर  

हुरीका पातहरूजस्तै

यो सहरको बिफरग्रस्त सडकमै छाडेर

ज्वालन्त मुद्दाहरू 

सुदुर गाउँघर तिरै कतै छाडेर

सपनाहरू

सुटुक्क 

तिमी कसरी निउरिदै छिर्न सक्यौ

सिंहदरबारको गेटबाट 

नाघ्दै

छलिदै यो फोहोरको थुप्रोबाट कसरी

उक्लन सक्यौ त्यो सिँढी..?

अचेल सपनाभरि

विपनाभरि दुखिरहेछ तिम्रो त्यही अनुहार

यी सहरका झ्याल झ्यालका

ऐनाभरि टाँसेर अनगिन्ती

प्रश्नवाचक आँखाहरू

सुटुक्क 

कहाँ हिँड्यौ मेरो नायक?

सुन्छुु 

कागले टिपेका कानका बतासे पदचापहरू

सुन्छु 

कता कताबाट

उडी आउँछन् बादलका डल्लाजस्ता हल्लाहरू

ननिको नलागे पनि सुन्छु

अचेल तिमी देशलाई केक 

बनाएर खानेहरूको 

महाभोजमा सामेल छौ रे!

अचम्म लाग्छ 

बडो अचम्म लाग्छ

जब देख्छु तिमीलाई

नग्न तैलचित्रमा

पग्लिरहेको घोडाको आकृतिजस्तै

छक्क परेर हेरिरहेछु

कसरी यसरी कागजको फूलमा

अनुदित हुन सक्छ .?

चट्टानको मन

र छक्क लाग्छ मलाई

रित्तो सडकको संवेदनासँग

तिमी खोजिरहेछु

कहाँ छौ मेरो नायक....?