पाठशाला न्यूज
 २०८१ आश्विन २०, आइतवार    

बाल कथा - मानिसको परिचय

२०८१ भाद्र २९, शनिवार १२:१७ बजे

बाल कथा 

मानिसको परिचय

              - विनय कसजू 

मृगले आफ्ना पाठाहरुलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुट्याउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरुलाई सोध्न थाली :

मृग : बाघ के हो ?

पाठा : बाघ हिंसक जीव हो किनकि उसको दाह्रा र नङ्ग्रा हुन्छ।

मृग : ठिक भन्यौ । हामीहरु बाघसँग जोगिनु पर्छ । व्वाँसो के हो भन त

पाठा : त्यो पनि हिंसक जीव हो । त्यसको पनि तीखा दाँत र नङ्ग्रा हुन्छन् ।

मृग : ठिक । अब भन जरायो के हो ?

पाठा : त्यो त हामी जस्तै अहिंसक जीव हो । उसका दाह्रा नङ्ग्रा केही पनि हुँदैन ।

मृग : एकदम ठिक भन्यौ । तिमीहरुले हिंसक जीव र अहिंसक जीव छुटयाउन सक्ने भएछौ । अब तिमीहरु बनमा घुम्न जान सक्छौ । तर एक्लाएक्लै नहिँडनु नि ।

यत्तिकैमा एउटा सानो पाठोले सोध्यो । आमा, हाम्रो जस्तै चार वटा खुट्टा भएर पनि पछिल्ला दुइटा खुट्टाले मात्रै टेकेर हिंडने । बाँदर जस्ता जीव के हो नि ?

मृग : ए त्यो त मानिस हो ।

सबै पठाहरुले एकै स्वरमा सोधे : त्यो हिंसक हो कि अहिंसक हो नि ?

मृग : त्यसलाई चिन्न गाह्रो छ । त्यसले के गर्छ भनेर यस्सै भन्न सकिँदैन । कोही हिंसक हुन्छन् भने कोही अहिंसक पनि हुन्छन् । त्यसको न त मुख, दाँत र हात खुट्टा हेरेर अडकल गर्न सकिन्छ न त स्वर सुनेरै । हिंसक जीवहरुबाट त हामी परैबाट होसियार हुन्छौं । तर मानिसको चाल थाहा पाउन गाह्रो हुन्छ । उसले माया पनि गर्छ । मिठो खान पनि दिन्छ । मिठो बोली पनि बोल्छ तर उसले कहाँ जाल वा पासो थापेको हुन्छ र कुन बेला कहाँ कसरी झुक्याउँछ भन्नै सकिँदैन । त्यसैले मानिसबाट सँधै टाढै बस्नु है ।