पाठशाला न्यूज
 २०८२ माघ ७, मङ्गलवार    

अभिलेख संरक्षण पहिलो संशोधन विधेयक समितिबाट पारित

२०८१ जेष्ठ १८, शुक्रवार १६:१४ बजे

काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा बैठकमा दफावार छलफल भएको थियो ।  यो विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने,  कागजात नेपाल बाहिर लानुपर्ने भएमा मन्त्रीपरिषद्को स्वीकृत अनिवार्य लिनुपर्ने लगायतका व्यवस्थाहरू गरिएको छ।

विधेयकमाथि सांसदहरू रघुजी पन्त, हेमराज राई, सुमना श्रेष्ठ, प्रेम सुवाल र प्रेमबहादुर महर्जनले संशोधन राखेका थिए ।

राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।