पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

आजदेखि कांग्रेसको महासमिति बैठक सुरु

२०८० फाल्गुण ७, सोमवार ०९:२२ बजे

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ । बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको नेपाली कांग्रेसले जनाएको छ । महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने कांग्रेसले आइतबार नै पत्रकार सम्मेलन गरी जानकारी दिइसकेको छ ।
पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले भने, ‘वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइनेछ ।’
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन्। नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
दुई हजार एक सय पाँचजना सहभागी हुनेछन् भने महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका तीन जिल्लाका सदस्य टुंगो लगाउन निर्वाचन समिति प्रयासरत रहेको विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसैले पार्टीका व्यवसायिक व्यक्तिहरुबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ ।
महासमिति बैठकस्थलबाट आवाससम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।
महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नुपर्ने छ । उद्घाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैंले गर्नुपर्नेछ । अन्य दिनमा भने बिहानको नास्ता र खाना पार्टीले खुवाउनेछ ।