पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

विभिन्न कार्यक्रम गरी रौतहटमा मनाइयो विश्व पर्यावरण दिवस

२०८१ जेष्ठ २३, बुधवार १६:४५ बजे

सञ्जय मिश्रा

रौतहट- विश्व पर्यावरण दिवसको अवसरमा महत्वका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

गैरसरकारी संस्था आरडिसी नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुरको सहयोग तथा डिभिजन वन कार्यालय रौतहटको आयोजनामा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ विश्व पर्यावरण दिवस मनाइएको हो।

पर्यावरण बचाउन विभिन्न नारा लेखिएको तुल-ब्यानरसहित बुधबार बिहान चन्द्रनिगाहापुर बजारमा प्रभातफेरी गरी वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर सञ्जयकुमार काफ्ले, अतिथिहरू डिभिजन वनका प्रमुख शैलेन्द्रकुमार मिश्र, प्रमुख प्रशासकीय अधिकृत उपसचिव किरणनिधि तिवारी, डाक्टर सुभाष चौधरी, डिएसपी गौरव महत, जनचाहना सामुदायिक वनका अध्यक्ष रामलाल ठोकर, हातेमालो सामुदायिक वनका अध्यक्ष प्रेमकुमार तिमलसिना लगायतको हातबाट दुई वटै सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ६०० बिरुवा रोपिएको सहायक वन अधिकृत राजेशकुमार साहले जानकारी दिए।

उक्त अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले चुरेक्षेत्र देशको करिब १३ प्रतिशत भू-भाग ओगटेको र पूर्व इलामदेखि पश्चिम डडेल्धुरासम्म ३६ वटा जिल्लाहरूमा यो क्षेत्र फैलिएको छ बताए।

चुरेसँग जनजीविका जोडिएको र चुरे सकिनेवित्तिकै भावर अनि त्यसपछि तराईको समथर भू-भाग प्रभावित हुने निश्चित रहेको वक्ताहरूले बताए।

तराईको समग्र क्षेत्रमा ५० प्रतिशत जनसङ्ख्याको बसोबास छ। प्राकृतिक जल भण्डारको हिसाबले हिमालमा जम्ने हिउँ यहाँको प्रमुख जलभण्डार हो भने चुरे क्षेत्र र भावर क्षेत्रले चाहिँ तराईका निम्ति भूमिगत जल भण्डारको काम गरेका छन्।

जैविक विविधतातर्फ देशका करिब ७ वटा संरक्षित क्षेत्र यही चुरे तराई क्षेत्रमा पर्छन्।

जीवजन्तु विविधताको हिसाबले नेपालमा पाइने १ हजार ९१८ प्रजातिमध्ये १ हजार ३०८ चुरे तथा तराई मधेस क्षेत्रमा पाइने वक्ताहरूले बताउँदै चुरेको संरक्षण अपरिहार्य रहेको जिकिर गरेका थिए।

कार्यक्रममा वन, नगरका कर्मचारी,सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय भद्रभलादमी लगायत दर्जनौं मानिसको सहभागिता रहेको थियो।

आज विश्व पर्यावरण दिवसको अवसरमा सदरमुकाम गौर, गरुडा, कटहरिया लगायत कैयौं स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको थियो। कैयौं विद्यालयका शिक्षक तथा छात्रछात्राहरूले तुल-ब्यानरसहित विभिन्न नारा लगाउँदै विश्व पर्यावरण दिवस मनाएका थिए।