पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

परराष्ट्र मन्त्री साउदले अयोध्यामा पाँच प्रकारका आभूषण समर्पण गर्ने

२०८० फाल्गुण १२, शनिवार १२:१० बजे

काठमाडौँ : भारतको दिल्लीमा रहेका परराष्ट्र मन्त्री एनपी साउद अयोध्याको राम मन्दिर दर्शन गर्न जाने भएका छन् । भारत विदेश मन्त्रालयले आयोजना गरेको रायसिना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका मन्त्री साउद आज अयोध्या जाने भएका छन् । उनी दर्शन गर्ने क्रममा मन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने बताइएको छ ।
११ बजे दिल्लीबाट विशेष विमानले अयोध्याको महर्षि बालमिकी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने मन्त्री साउदलाई उत्तर प्रदेश सरकार मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

नेपालको सरकारी प्रतिनिधिको रूपमा अयोध्या मन्दिर दर्शन गर्नेमा पहिलो अधिकारी प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्धी समितिका सभापति राजकिशोर यादव हुन् । मन्त्री साउद दोस्रो हुन् ।
मन्दिर प्राङ्गणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टका महासचिव चम्पत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने बताइएको छ । रामलालाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने बताइएको छ ।
परराष्ट्र मन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामलालाको प्रतिमाको लागि अर्पण गर्ने छन् । चाँदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र शृङ्गारका सामानहरू छन् ।
त्यसपछि परराष्ट्र मन्त्री साउद सरयू घाटमा साँझ हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम रहेको छ । योसँगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ ।