पाठशाला न्यूज
 २०८० आश्विन ११, बिहीबार    

माओवादी केन्द्र र एमाले नेताका छोराहरु अवैध धन्दामा

२०८० भाद्र २९, शुक्रबार १३:४४ बजे

काठमाण्डौं– माओवादी केन्द्र र एमालेका नेता तथा तिनका छोराहरु अवैध धन्दामा तानिएका छन् । विद्युतीय चुरोट ‘भेप’मार्फत तस्करी गरिएको ९ किलो सुन काण्डमा जोगाइएका पूर्व सभामुख समेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा अनुसन्धानका लागि हिरासतमा छन् ।
महराको चिनियाँ नागरिक दाओजिन वाङसँग सयौं कल फोन देखिएको भेप सुन प्रकरणमा जोगाइएका उनी पछिल्लो ब्रेक–सुका रुपमा तस्करी गरिएको झण्डै ६१ किलो सुन प्रकरणमा पनि जोडिएपछि पक्राउ गरी अनुसन्धान थालिएको हो ।
भेप प्रकरणमा पूर्वसभामुख महराको संलग्नता भएको आशंका गरिएपनि उनी भने अझै अुनुसन्धानको दायरामा परिसकेका छैनन् ।
‘ब्रेक–सु’ सुन प्रकरणमा महराका बाबु–छोरा मात्र नभएर वर्षमान पुनको नाम समेत चर्चामा आएको छ । माओवादी उप–महासचिव पुनले भने सहिद परिवारकी सदस्यसमेत रहेकी अमला रोक्काले सुन तस्कर दावा छिरिङसँग आठ वर्षअघि घरमा आउँदाको फोटो दुरुपयोग गरिएको बताएका छन् । उनका भाइ प्रनिश पुन भियना मल्टिप्रपोज ग्रुपको शेयर साझेदार रहेको खुलेसँगै उनको स्पष्टीकरणमा पनि फेरि प्रश्न उठेको छ ।

अवैध धन्दामा तानिएका अर्का नेताको छोरा हुन प्रतीक थापा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाको छोरा प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त हुन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न प्रतिक थापा ६१ किलो सुन प्रकरणमा पनि दावा छिरिङसँगको सम्पर्कमा जोडिएको देखिए पछि उनीमाथिको अनुसन्धानले थप तथ्य बाहिर ल्याउने अनुमान गरिएको छ ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । टोपबहादुर रायमाझी पक्राउ पर्नु अगावै उनका छोरा पक्राउ परेका थिए ।
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोगमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु नै तानिएका छन् । नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यो काण्डमा एमाले अध्यक्ष ओलीका सहयोगी राजेश शाक्यदेखि अन्यको नामसमेत आएको थियो । तर, त्यसरी नाम आएका सबैलाई आनुसन्धानमा तान्ने र अभियोगमा नाम राख्ने काम भएको छैन ।
यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलको नाम जोडियो । तर, पोखरेलले कुनै संलग्नता नरहेको भनी खण्डन गरिसकेका छन् । उनले स्वतन्त्ररुपमा छानबिन गर्न पनि चुनौती दिएका छन् ।
पक्राउ परेका चिनियामूलका बेल्जियम नागरिक होटल भियनाका सञ्चालक दावा छिरिङ, ठमेलस्थित केटिबी काराओके रेस्टुरेन्टका टियान मी, वीन तोङ, डिंग सेग्फा र ली नेङकाइसमेतले बयानमा नेताका छोराहरुको नाम लिएका हुन् । तर यस विषयमा बाबु ईश्वर पोखरेलले भने दावा छिरिङसँग आफ्ना परिवारको कुनै सम्पर्क र चिनजान नभएको बताएका छन् ।
माओवादी नेताहरुमध्येका पूर्वउपराष्ट्रपति नन्दबादुर पुनका छोरा दिपेश पुनको नाम पनि जोडियो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कागजी बयान समेत लिएको छ । उनको यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत नाम जोडिए पनि अनुसन्धानमा भने तानिएनन् ।

माओवादी नेताहरु सरकारमा आइसकेपछि राज्य दोहनमा संलग्न भएको भन्दै त्यसको बाटो बन्द हुँदै गएपछि ठगी र तस्करीमा लागेको देखिन्छ । गृहसचिव, गृहमन्त्री गृहप्रशासनसहित, उपप्रधानमन्त्री भइसकेका मान्छेहरु एउटा नागरिकको तहमा गएर उनीहरुसँग पैसा उठाएर नक्कली शरणार्थी बनाउने काममा लागी राज्यकोषको दोहनलाई स्वभाविक रुपमा लिएर नेताहरुमा जे गर्दा पनि हुन्छ भन्ने सोच देखिएको छ ।