पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

भारतको केरलको वायनाडमा पहिरोमा परि १२३ जनाको मृत्यु ९० जना बेपत्ता

२०८१ श्रावण १६, बुधवार ०७:३४ बजे

भारत- केरलाको वायनाड जिल्लामा मंगलवार पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसअघि मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

यससँगै ९० जनाको खोजी कार्य जारी रहेको छ भने १३१ जना अस्पतालमा भर्ना छन् । सोमवार र मङ्गलवार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।

मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीका अनुसार "मृतकको संख्या अहिले १२३ पुगेको छ।"

उनले सूर्यास्तपछि पनि सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकलको सहयोगमा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

पहिरो प्रभावित क्षेत्रमा मुसलधारे पानी परिरहेको भएपनि उद्धार कार्य जारी रहेको अधिकारीले बताए ।

मुन्डक्काई चिया बगान भएको सानो सहर हो । जहाँ असम र पश्चिम बंगालका मानिसहरू ठूलो संख्यामा काम गर्छन्।

एनडिआरफ र दमकलको उद्धार टोलीहरूले सामना गरेको सबैभन्दा ठूलो समस्या चुरलमाला र मुन्डक्काइ बीचको पुल बग्नु हो।

मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित दुई महत्वपूर्ण स्थानमा अस्थायी पुल निर्माण गर्न सेनासँग सहयोग मागेका छन् । तर सेना त्यहाँ पुग्नुअघि नै एनडीआरएफले डोरीको सहायताले शव निकालेर घाइतेहरूलाई अस्पताल पुर्याएको थियो।

चुरलमला र मुण्डक्काईमा उद्धार कार्य जारी रहँदा निलाम्बुर वन क्षेत्र र मल्लपुरमको चालियार खोलामा पनि मानव शवहरु तैरिएको केही प्रत्यक्षदर्शीले बताएका छन् । अधिकारीहरूले यस क्षेत्रमा कम्तीमा ३० शव फेला परेको पुष्टि गरेका छन्।

केरला सरकारका वन मन्त्री एके ससिधरनले एनडीआरएफ टोलीहरू डोरीको सहायताले उद्धार कार्यमा संलग्न रहेको बताए। त्यसैले पनि अलि बढी समय लाग्छ । सेनाको टोलीले त्यहाँ काम सुरु गरेको छ ।

उद्धार कार्यका क्रममा २५० भन्दा बढीको उद्धार गरिएको छ, उनले भने।

केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले मंगलवार बिहान २–३ बजे पहिरोको घटना भएको बताएकी छन् ।

पहिरोपछि ठूलो संख्यामा मानिसहरु फसेको आशंका गरिएको छ ।

एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर उद्धार कार्यमा संलग्न थिए।

तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो गएको स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ।

केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।

मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि यी स्थानहरूमा समावेश छन्।