पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

महिला सञ्चारकर्मी माथि वीरगंज प्रहरीको दुर्व्यवहार, कारवाहीको माग गर्दै सञ्चारकर्मी यादव धर्नामा

२०८१ जेष्ठ १२, शनिवार ०९:४१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- माई टेलिभिजनका महिला सञ्चारकर्मी सुष्मिता यादव माथि पर्सा प्रहरीले रिपोर्टिङको क्रममा दुर्व्यवहार गरेपछि कारवाहीको माग गर्दै सञ्चारकर्मी यादव वीरगंज घण्टाघरमा बिगत दुई दिन देखी धर्नामा बसेकीछिन्। 

सञ्चारकर्मी यादवलाई वीरगंज महानगरपालिका वडा नं १६ स्थित माईधिया पोखरी नजिक पर्सा प्रहरीले दुर्व्यवहार गरेपछि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै धर्नामा बसेकी हुन् । 

कार्यालयबाट घर फर्किदै गर्दा हेल्मेटको क्लिप नलगाएको भनि प्रहरीले रोकेको यात्रुको रिपोर्टिङ गर्ने क्रममा प्रहरीले अपशब्द बोलि झापारेपछि आफु माथि यस्तो दुर्व्यवहार नगर्न आग्रह गरेकी थिइन्। सञ्चारकर्मी यादवका अनुसार पटक पटक गालि बेइज्जतीको हिसाबले प्रहरीले दुर्व्यवहार गरेपछि ट्राफिक प्रहरीलाई आफु सञ्चारकर्मी भएको र आफु माथी दुर्व्यवहार नगर्न आग्रह गरेकी थिइन् ।

तस्बिर: पहेलो घेरामा सञ्चारकर्मी माथि दुर्व्यवहार गर्ने दुई प्रहरी 

दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै बिगत दुइ दिन देखि एक महिला सञ्चारकर्मी घण्टाघरमा दिनरात धर्नामा बस्दा पनि आफु स्वतन्त्र पत्रकारीतामा लागेको हुँदा कुनै पत्रकारहरुको संघ संगठनले र पर्सा प्रहरी प्रमुखले कारवाहीको लागि सहयोग नगरेको गुनासो यादवले गरेकि छिन् ।

यादवले हालसम्म पर्साको एकजना पत्रकारले समेत केही सोधपुछ नगर्दा मन खिन्न भएको छ‌, महिलाको अधिकारको हनन भएपनी यहाँका प्रेस संगठनले वेवास्ता गर्नु निकै दुख:द तथा लज्जास्पद बिषय हो भनेर बताएकी छिन्। म माथी वेवास्ता गर्नुको मुख्य कारण म कुनै संगठनमा आवद्ध नभएको कारणले मात्र भएको हो भनि दुखेसो पोखेकी छिन्। स्वतन्त्र पत्रकारको कुनै पनि मर्यादा र भ्यालु नरहेको यो म माथी भएको घटनाले दर्शाएको मैले बुझेको छु, आँखा भरी आँसु पोख्दै यादवले बताईन्। सहि र सत्यको उजागर होस मेरो यतिमात्र माग हो यदि मैले गल्ती गरेको छु भने कानुन बमोजिम मलाई कार्यवाही होस् र यदि यो घटनामा म दोषी छैन भने म माथी भएको घटनाको सत्य तथ्य छानबिन होस् र दोषी देखिएका सम्बन्धित प्रहरीलाई कार्यवाही होस् मेरो यतिमात्र माग हो। वीरगंजको मुख्य ठाउँ घण्टाघरमा एकजना महिला रातभरि आफुमाथी घटेको घटनाको छानबिनको लागी बस्दा सम्म एकजना प्रहरी र पत्रकारले समेत केही बुझ्न नआउँदा पत्रकारिता पेशाबाट महिलाहरू विस्थापित हुने अवस्था समेत सिर्जना भएको यो घटनाले प्रमाणित गरेको छ।