पाठशाला न्यूज
 २०८१ आषाढ ९, आइतवार    

राष्ट्रपति पौडेल बर्लिनमा, सोमबार समकक्षी स्टिनमेयरसँग भेटवार्ता

२०८१ आषाढ २, आइतवार ०८:१३ बजे

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । पौडेल समकक्षी डा.फ्र्यांक वाल्टर स्टिनमेयरको मैत्रिपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।
राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।