जलेश्वर सर्राफ
बारा- घरायसी विवाद भएको क्रममा खुर्पा प्रहार गरी बाराको निजगढमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति ८:४५ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्ने विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन्।
राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर सामान्य विवाद भएको थियो। बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको र रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी हत्या गरेका हुन्।
सो विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले प्रहार गरेका छ्न। सो क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना समेत घाइते भएका छन्। घाइतेमध्ये जमुनालाई वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको सापकोटाले बताए।
खुर्पा प्रहार गर्ने विमललाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।