पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

टिकटक बन्द हुदाँ सरकारलाई ५ महिनामा ३ अर्ब रूपैयाँ घाटा

२०८० चैत्र २८, बुधवार २१:३९ बजे

काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि टेलिकम सेवा प्रदायक कम्पनीहरू प्रभावित भएका छन् । टेलिकम कम्पनीहरूको दाबी पत्याउने हो भने टिकटक बन्द भएको ५ महिनामा मात्रै ३ अर्ब रूपैयाँ बराबरको आय गुमेको छ ।
सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णयको थियो । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले कात्तिकसम्म नेपालमा सबैभन्दा धेरै चल्ने सामाजिक सञ्जाल टिकटक नै थियो ।
‘तर सरकारले टिकटक बन्द गरेपछि ब्याण्डविथ खपत घट्यो, यसका कारण एनसेलले मात्रै १ अर्ब ४४ करोड रुपैयाँ गुमाएको छ,’ उनले भने ।
उनका अनुसार सोही अनुपातमा नेपाल टेलिकमले पनि टिकटकबाट आउने डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । उपाध्यायले सरकारकै नीतिगत व्यस्थाका कारण एनसेलले पछिल्लो ६ वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गुमाएको दाबी पनि उनले गरे ।
‘सरकारले सन् २०१८ वृद्धि गरेको टेकमल सेवा शुल्कका कारण ३ अर्ब ५२ करोड रूपैयाँ गुम्यो । टेलिकम सेवा शुल्क डेटाका कारण २ अर्ब ९० करोड गुम्यो,’ उनले रिपोर्ट पेश गर्दै भने, ‘विभिन्न तीन प्रकारको नियमनका कारण ५ अर्ब १३ करोड टिकटकका कारण १ अर्ब ४४ करोड रुपैयाँ गरी कुल १३ अर्ब रुपैयाँ आम्दानी घट्यो ।’
भारत लगायत एशियाका धेरै देशमाटेलिकम कम्पनीहरूमा प्रतिव्याक्ति १५ देखि २० जीबीसम्म डाटा खपत रहेको तर नेपालमा प्रतिव्याक्ति ४ जीबीमात्रै डाटा खपत रहेको उपाध्यायले बताए ।
दूरसञ्चार क्षेत्रको विकासका लागि नीति नियम र ऐनमा सुधार गर्नुपर्ने भए पनि अझै २७ वर्ष पुरानो ऐनमै रहँदा समस्या भएको उनको गुनासो थियो । उनले भने, ‘ सरकारले बनाएको पछिल्लो फ्रिक्वन्सी नीतिमा अझै खुकुलो बन्न सकेको छैन ।’