पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

२०८१ जेष्ठ ६, आइतवार २१:३५ बजे

काठमाडौं- अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लागेको छ । ब्लू ओरिजिनले लगभग दुई वर्षपछि अमेरिकी समय अनुसार आइतवार बिहान साढे ८ बजे ६ जनालाई अन्तरिक्षमा पठाउने भएको छ । सन् २०२२ मा यसको एउटा रकेट दुर्घटना भयो, त्यसपछि कम्पनीले उडानमा प्रतिबन्ध लगाएको थियो ।

अब फेरि एकपटक अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी सबर्बिटल रकेट प्रक्षेपण गर्ने तयारीमा छ । यसले अन्तरिक्ष पर्यटन बजारमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ । अन्तरिक्षमा पठाइने ६ जनामध्ये पूर्व वायुसेना पाइलट एड ड्वाइट पनि सामेल छन् । उनलाई अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा देशको पहिलो अश्वेत अन्तरिक्ष यात्री उम्मेदवारको रूपमा चयन गरेका थिए तर उनलाई अन्तरिक्षमा उड्ने अवसर दिइएन ।

जानकारीका अनुसार सबै छ जना अमेरिकाको वेस्ट टेक्सासस्थित कम्पनीको लन्च साइट वन बेसबाट उड्नेछन् । यो उडानसँगै वायुसेनाका पूर्व पाइलटले नयाँ इतिहास रच्न लागेका छन् । ९० वर्ष, आठ महिना र १० दिनको उमेरमा, ड्वाइट अन्तरिक्षमा सबैभन्दा वृद्ध व्यक्ति बन्नेछन्। उनले स्टार ट्रेक अभिनेता विलियम शाटनरको कीर्तिमान तोड्नेछन्।

शाटनरको जन्म क्यानडामा मार्च २२, १९३१ मा भएको थियो । उनी क्यानेडियन अभिनेताका रूपमा चिनिन्छन् । अभिनेता हुनुको अलावा उनी लेखक, निर्देशक, निर्माता, पटकथा लेखक र गायक पनि हुन्। उनी सन् २०२१ मा अन्तरिक्ष यात्री पनि बनेका थिए । ९० वर्षको उमेरमा, शाटनरले अन्तरिक्षमा यात्रा गर्ने सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री बन्ने कीर्तिमान राखेका थिए।

यो ब्लू ओरिजिनको पहिलो उडान होइन। न्यू शेफार्ड-२५ मिसनको लागि सातौं उडान हो। छ जना मध्येका फ्रान्सेली उद्यमी सिल्भेन चिरोन यो उडानलाई लिएर निकै उत्साहित छन् । एक अन्तर्वार्तामा उनले आकाशबाट मानव संसारलाई सीमाविहीन र सुन्दरताले हेर्न पाउँदा निकै उत्साहित भएको बताएका थिए ।

ब्लू ओरिजिनले अहिलेसम्म ३१ जनालाई अन्तरिक्षमा पुर्याइसकेका छन् । यी यात्राहरू न्यू शेपर्ड मार्फत सम्पन्न भएका छन् । न्यू शेपर्ड एउटा सानो, पूर्ण रूपमा पुन: प्रयोज्य रकेट प्रणाली हो, जसको नाम अन्तरिक्षमा पहिलो व्यक्ति अमेरिकी एलन शेपर्डको नामबाट राखिएको छ ।