पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

२०८० भाद्र ३०, शनिवार १२:०७ बजे

काठमाडौं–उच्च अदालतका न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको छ । सर्वोच्च अदालतको न्यायाधीशका लागि उनको नाम शुक्रबार समितिबाट अनुमोदन भएको हो ।
पछिल्लोपटक १० भदौमा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा उनलाई सिफारिस गर्दै संसदीय सुनुवाइका निम्ति नाम पठाएको थियो । त्यसअघि २१ भदौ ०७९ मा पनि उनको समेत गरी तीनजनाको नाम पठाइए पनि संसद्को कार्यकाल सकिएका कारण नियुक्ति हुन सकेको थिएन ।
न्यायाधीश शर्मालाई पुनः सिफारिस गरिएकोमा नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय समितिले अनुमति दिएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । शर्मा उच्च अदालत जनकपुरमा कायममुकायम मुख्य न्यायाधीश थिए । सर्वोच्चमा प्रधानन्यायाधीशसँगै बढीमा २१ जना न्यायाधीश रहने संवैधानिक प्रावधान छ । अब सर्वोच्चमा ६ न्यायाधीशको पद रिक्त छ ।