पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

भेपमार्फत भएको सुन तस्करी प्रकरण: अनुसन्धानका लागि राहुल महरा पक्राउ

२०८० भाद्र १३, बुधवार १६:४४ बजे

काठमाडौं–विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।
कल डिटेल्स रिपोर्ट (सीडीआर) अनुसार विमानस्थलमा चिनियाँ नागरिक ली हानसोङले सुन तस्करी गरेको मिति २०७९ पुष १० गतेदेखि विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा कृष्णबहादुर महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको पाइएको हो ।
प्रहरीले सुन तस्करीमा संलग्न भनी किटान गरेका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक कुराकानी गरेको पाइएको छ । त्यसैगरी अर्का तस्कर दाओजिन वाङसँग पनि महराले ११ पटक नै कुराकानी गरेको पाइएको छ ।
रिपोर्टमा प्रहरीले सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराबीच सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्मको समयमा १९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।
सुन तस्करीमा संलग्न भनिएका वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका छन् । त्यसैगरी वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६५१ पटक कुराकानी भएको पाइएको छ ।
त्यस्तै वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाउने भन्दै सम्पर्कमा गएका श्याम साहलाई ५२ पटक टेलिफोन गरेका छन् भने साहले वाङलाई २०१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।
नेता महराका छोरा राहुल महराले वाङका चालकसमेत रहेका लोकेन्द्र पौडेललाई ३६ पटक टेलिफोन सम्पर्क गरेका छन् । त्यस्तै राहुलले अशिन भन्ने व्यक्तिलाई ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ ।
यता वाङका सवारी चालक लोकेन्द्र पौडेल र श्याम साहबीच सो अवधिमा ९३ पटक कुराकानी भएको देखिएको छ भने श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले अनुसन्धान प्रतिवेदनसहित गोप्य मिसिलमा समावेश गरेको छ ।