काठमाडौँ –कैलालि जिल्ला कारागारमा रहेका टिकापुर घटनाका ३ जना दोषी सहित सरकारले सिफारिस गरेका ६७० जना कैदी बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरिदिएका छन् ।
कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार फौजदारी कसुर ऐन २०७४, कारागार नियमावली २०२०, सर्वोच्च अदालतबाट भएका फैसला तथा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ अनुसार ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी असोज ३ गतेबाट माफी मिनाहा गरिएको जनाएको छ।
गत असार २९ मा बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको बाँकी कैद मिनाहा र ३४ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जस मध्ये ३४ जनालाई भने राष्ट्रपति कार्यालयले आम माफी नदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी दिन सिफारिस गरिएकाहरु जघन्य अपराधका दोषी अधिकांश सत्तारूढ माओवादी, कांग्रेस र मधेशकेन्द्रित दलनिकट भएको पाईएको छ ।