पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

यसबर्षको शिवसावित्री अधिकारी स्मृति सम्मान-२०८० साहित्यकार पुडासैनीलाई

२०८० कार्तिक २७, सोमबार १५:४४ बजे

फोटो/बिन्दिरा अधिकारी
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जयन्तीका अवसरमा आयोजना भएको साहित्यिक कार्यक्रममा साहित्यकार अप्सरा पुडासैनी ’शिवसावित्री अधिकारी स्मृति सम्मान–२०८०’ बाट सम्मानित हुनुभएको छ ।
शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एक भव्य उपस्थिति माझ स्रष्टा सम्मान, रचना वाचन एवम् विद्यालयस्तरीय कविता प्रतियोगितामा पुडासैनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीका अध्यक्ष लम्बोदर काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्मरण बिधामा कलम चलाउँदै आउनुभएका स्रष्टा अप्सरा पुडासैनीलाई नगद रु.एघार हजार एक सय एघार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
वि.सं २०३० मा मकवानपुर जिल्लाको भीमफेदीको सुपिङमा जन्मनुभएका पुडासैनीले नेपाली साहित्यको संस्मरण तथा कथा साहित्यमा कलम चलाउँदै आउनुभएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष तथा साहित्यकार रमेशमोहन अधिकारीले सम्मानित स्रष्टाको व्यक्तित्व माथि प्रकाश पार्नुभएको थियो । साहित्यकार पुडासैनीले दुई दशकदेखि लेखनमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दैे सम्मान प्रदान गरिएको हो ।
साहित्यप्रेमी ध्रुवमोहन अधिकारी, उत्तममोहन अधिकारी, चन्द्रमोहन अधिकारी र साहित्यकार रमेशमोहन अधिकारीका पिता स्व. शिव प्रसाद अधिकारी तथा माता स्व. सावित्री अधिकारीको स्मृतिमा गठन गरिएको शिव–सावित्री प्रतिष्ठान नेपालले बिगत तीन दशकदेखि साहित्य र समाज सेवाको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । यस प्रतिष्ठानले साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेका साहित्यिक सर्जकहरुलाई हरेक वर्ष शिवसावित्री अधिकारी स्मृति सम्मान दिदै आइरहेको छ ।
एक दर्जनभन्दा बढी प्रतियोगी तथा उत्तिकै सङ्ख्यामा अप्रतियोगी रचना वाचन गरिएको उक्त कार्यक्रम युवाकवि राम उदितले सञ्चालन गर्नुभएको थियो भने कवि तेजविक्रम कार्की, लक्ष्मण आचार्य, श्याम थापा, राम प्रसाद अधिकारी, लिलाराज दहाल, केदार सिग्देल, राम उदित, लक्ष्मण खनाल लगायतका दर्जनौ कविहरुले आफ्नो रचना वाचन गरेर कार्यक्रमको गरिमालाई बढाउनु भएको थियो ।

मकवानपुरबाट साहित्यकार जनार्दन खनाल, बाराबाट गणेश मैनाली, बैतडीबाट धनदेव जोशी, सर्लाहीबाट रामचन्द्र कुसवाहा, घनश्याम पन्त, लक्ष्मण पौडेल, नरेन्द्र कुमार चौधरी, महोत्तरीवाट प्रेम घिमिरे, रामचन्द्र पौडेल, नारद काफ्ले, लालबाबु शर्मा, रौतहटबाट किसुनदयाल यादव, शिवचन्द्र साह, शंकर भट्टराई, सञ्जय साह मित्र लगायतका साहित्यकारहरुको कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा ’हजुरबुवा’ शीर्षकमा विद्यालयस्तरीय कविता प्रतियोगिताअन्तर्गत भने तीन उत्कृष्ट कविताहरुलाई छनौट गरी पुरस्कृत गरिएको थियो । तीन उत्कृष्ट कविताका कविहरुमा जनप्रिय मा.वि. हरिनगर मैढाका अजय माझी, नमुना इङ्गलिस आवासीय मा.वि.का प्रशान्त रिमाल र मुनलाइट एकेडेमीका श्रद्धा कोइराला पुरस्कृत हुनुभएको थियो ।