पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

रौतहट : जनजागृति आधारभूत विद्यालयको अभिभावक भेला चौथोपटक स्थगित

२०८० फाल्गुन ८, मंगलबार १६:४९ बजे

सञ्जय मिश्रा
रौतहट : रौतहटको गुजरा नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयको अभिभावक भेला चौथोपटक पनि स्थगित भएको छ । विद्यालय व्यावस्थापन समिति गठनका लागि विद्यालयमा सोमबार भएको अभिभावक भेला बिना कुनै निर्णय स्थगित भएको थियो । व्यवस्थापन समितिका लागि अभिभावकहरूबाट दुईजना महिला छनौट गर्ने विषयमा अभिभावकबीच सामन्य भानभन हुँदा चौथोपटक अभिभावक भेला स्थगित गरिएको थियो ।
शिक्षा नियमाबली २०५९ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम बोलाइएको अभिभावकहरूबाट दुईजना महिला सदस्यसहित चारजना छनौट गर्नुपर्ने कानुनी व्यवस्था छ ।

अभिभावकहरूबाट चारजना महिलाको नाम आएको र चारैजना समितिमा बस्ने अडान लिएको र दुईजनामा सहमति गर्न भनेपछि सामान्य भनाभन भएको थियो । अभिभावक नै नभएको व्यक्ति समर्थक हुन नपाउने प्रश्न उठेपछि विवाद भएकोमा शिक्षक प्रतिनिधि एवं नगर शिक्षा संयोजक शिवमंगल साहले भेला स्थगित गरेको प्राध्यानाध्यापक आमानुल हकले बताए ।
निर्वाचन प्रक्रियामा नगई सहमतीय प्रक्रियाबाट सदस्य छनौट गर्ने प्रयास जारी रहेको क्रममा चौथोपटक सहमतिको वातावरण नदेखिएपछि अर्को सूचना नआएसम्मको लागि अभिभावक भेला स्थगित गरिएको प्रधानाध्यापक हकले जानकारी दिए ।
स्थानीय अभिभावक संजय साहले षड्यन्त्रपूर्वक अभिभावक भेला पटक पटक स्थगित गर्दै आएको आरोप लगाएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरू विद्यार्थीको अध्ययनअध्यापनतर्फ ध्यान नदिएर दिनभरि गफ गरि बस्ने गरेको बताउँदै विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य गर्ने गरेको आरोप लागेको छ ।
शिक्षाको स्तर बढाउने कार्य नगरी राजनीतिक गर्ने गरेको शिक्षकलाई विद्यालयबाट हटाउनुपर्ने स्थानीय अभिभावकहरुले माग गरेका छन् । हरिहरपुरका राम आशिष साहले केही शिक्षकहरू स्वयं विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको आरोप लगाए ।
उक्त विद्यालयको अभिभावकमध्ये ७५ प्रतिशत अभिभावक व्यवस्थापन समिति गठन गराउन प्रयासरत छन् । तर, केही जनप्रतिनिधि आफ्नो नजिकको मानिसलाई समितिको अध्यक्ष बनाउन विभिन्न षडयन्त्र गरेर पटकपटक अवरुद्ध गर्दै आएको पूर्व गाविस अध्यक्षसमेत रहेका साहले बताए ।
जनजागृति आधारभूत विद्यालय हरिहरापुरमा लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अभावमा पठनपाठनदेखि विद्यालयको सम्पूर्ण अवस्था दयनीय भएको अभिभावकले गुनासो गर्दै आएका छन् ।