पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

“झिगु ख्वप“ को प्रदर्शनी सुरू

२०८१ जेष्ठ ३१, बिहीवार ११:१६ बजे

भक्तपुर- वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ (हाम्रो भक्तपुर) को प्रदर्शनी बुधबारबाट सुरू भएको छ । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला, संस्कृति, सम्पदा र सहनसहन सम्बन्धी  जानकारी दिने उद्देश्यले प्रदर्शनी सुरु गरेको जनाएको छ । प्रदर्शनी भक्तपुरको लिवालीमा अवस्थित वल्ड दरवारमा भएको हो । प्रदर्शनी असार १ गतेसम्म जारी रहने जनाइएको छ । प्रदर्शनीमा शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने एक सय भन्दा बढी तस्बिरहरु राखिएको छन् ।

प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पुराना सम्पदाहरु बचाई राख्न फोटोहरुको ठूलो महत्व हुने बताए । एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोेले लेखाई भन्दा पनि दृष्यले धेरै कुरा बताउने उनको भनाई थियो । 

सोही अवसरमा विशेष अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले फोटोग्राफीको महत्वबारे चर्चा गरे । साथै युवाहरुमा फोटोग्राफीको रुची बढाउनमा किपाःग्राफी भक्तपुरले गरेका कार्यको उनले प्रशंसा गरे । कार्यक्रममा किपाः ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले पनि फोटोग्राफीको महत्वपूर्ण भूमिका रहने बताए । 

कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वलचन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए । 

फोटो फिचर