पाठशाला न्यूज
 २०८१ बैशाख ६, बिहीबार    

नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि

२०८० जेठ १९, शुक्रबार १७:३९ बजे

काठमाण्डौ–राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला हुने अधिकारीहरूले बताएका छन् ।
राजपत्रमा प्रकाशित भएपछि औपचारिक कार्यान्वयनमा आएको मानिने नयाँ कानुनले गैरआवासीय नेपालीहरूलाई पनि आर्थिक र सामाजिक तथा सांस्कृतिक अधिकारसहित नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ ।
संविधान जारी भएको झन्डै आठ वर्षपछि आउन लागेको कानुनमा भएको व्यवस्थाअनुसार नागरिकता वितरण कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा धेरैले चासो राखेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत “अब छिट्टै नै यो कानुन प्रयोग गरेर नागरिकता दिने व्यवस्था मिलाइने” बताएका छन् ।
संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठापएको नागरिकता विधेयक यसअघि तात्कालिक राष्ट्रपति विद्या भण्डारीले फिर्ता पठाइदिएकी थिइन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विवादबारे जान्नैपर्ने कुरा
कहिलेबाट पाइन्छ नयाँ नागरिकता
राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि ऐनको रूपमा कार्यान्वयनमा आउने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए। अधिकारीहरूका अनुसार उक्त कानुन केही दिनभित्रै राजपत्रमा प्रकाशित गर्ने तयारी छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा “यो ऐन तुरुन्त प्रारम्भ हुने छ” भनिएको छ ।
“ऐनमा स्पष्ट व्यवस्था गरिएको हदसम्म नयाँ ऐनअन्तर्गत नागरिकता पाउनुपर्नेहरूले तत्कालै जिल्ला प्रशासनमा गएर नागरिकता लिन सक्छन्,” बस्नेतले भने ।

दलहरूबीच मतभेदमाझ नागरिकतासम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
’महिला अझै दोस्रो वर्गमा’–नयाँ नागरिकता विधेयकबारे उठेका तीन प्रश्न
“तर ऐनमा तोकिएबमोजिम हुने छ भनिएको अवस्थामा चाहिँ त्यसका लागि नियमावली र कार्यविधि बनाउनुपर्ने हुन्छ। त्यसका लागि केही समय लाग्न सक्छ।”
कार्यान्वयनको तयारीमा रहेको यो ऐनमा जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता लिने व्यवस्थाका लागि नियमावलीहरू आवश्यक नपर्ने अधिकारीहरूको बुझाइ छ ।
तर गैरआवासीय नेपाली नागरिकतासम्बन्धी दफामा भने “तोकिएबमोजिम” भन्ने पदावली राखिएका कारण त्यसका लागि नियमावली वा कार्यविधिहरूको आवश्यकता पर्न सक्ने उनीहरू बताउँछन् ।
कसकसले पाउँछन् नागरिकता
१) जन्मसिद्ध नागरिकका सन्तान
यो कानुनले नागरिकता ऐन २०६३ को दफा ३ मा उपदफा ४ थपेको छ।
त्यसमा भनिएको छः “संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ।”
यो व्यवस्थाले जन्मसिद्ध नेपाली नागरिकता पाएका झन्डै दुई लाख नागरिकका सन्तानहरू तत्कालै लाभान्वित हुन सक्ने ठानिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
नेपालमा विसं २०४६ सालअघि स्थायी बसोबास गरिरहेका मानिसहरूलाई २०६३ सालपछि जन्मसिद्धका आधारमा नेपाली नागरिकता दिइएको थियो। गृह मन्त्रालयको अभिलेखअनुसार २०७२ साल असोज ३ गते नयाँ संविधान जारी हुनुअघि एक लाख ९० हजार जनाले जन्मसिद्ध नागरिकता लिएका थिए ।
नेपालमा महिला अधिकारकर्मीहरूले लामो समयदेखि नागरिकतामा समान अधिकारको माग गर्दै आएका छन्
नयाँ संविधानले उनीहरूका सन्तानलाई सङ्घीय कानुनअनुसार वंशजको नेपाली नागरिकता दिने व्यवस्था गरे पनि कानुन बन्न ढिलाइ भएका कारण उनीहरू नागरिकता पाउनबाट वञ्चित भएका थिए । नयाँ संविधान बनेपछि २०७५ सालमा गृह मन्त्रालयले गरेको परिपत्रबाट केही जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता लिए पनि सर्वोच्च अदालतले त्यसलाई रोक्न आदेश दिँदै कानुन बनाएर मात्रै नागरिकता दिन भनेको थियो ।
अहिले जन्मसिद्ध नागरिकका सन्तान कति सङ्ख्यामा नागरिकता लिन योग्य छन् भन्ने विवरण गृह मन्त्रालयसँग पनि छैन। नेपालमा कतिपय राजनीतिक दलहरूले यसअघि वितरण गरिएको जन्मसिद्ध नागरिकता छानबिन नगरी उनीहरूका सन्तानलाई नेपाली नागरिकता दिन नहुने बताउँदै आएका छन् ।