काठमाडौं–बिहारको मुजफ्फरपुरमा बिहीबार बागमती नदीमा ठूलो दुर्घटना भएको छ । ३३ जना व्यक्ति सवार डुंगा डुबेको हो ।
डुंगामा अधिकांश स्कुले बालबालिका थिए । दुर्घटना बिहान सवा ९ बजे गायघाट थाना क्षेत्रको बेनीबाद ओपीमा भएको हो ।
अहिलेसम्म २० जनालाई बाहिर निकालिएको छ । नदीको तीव्र बहावमा १३ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी राखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नदीमा बहाव तीव्र भएका कारण डोरीको सहारामा डुंगालाई नदी पार गराइँदै थियो । अचानक सबै डोरी चुँडिएपछि नदीमा डुंगा पल्टिएको थियो ।
गाउँमा पुल नभएका कारण बालबालिका र आसपासका कैयौं मानिस यसरी नै वारपार गर्ने गर्दथे । गायघाट र बेनीबाद प्रहरीका साथ एसडीआरएफ र एनडीआरएफको टिम समयमै पुगेको थियो ।
यता मुजफ्फरपुरमा एसकेएमसीएचमा नवनिर्मित भवन उद्घाटनमा पुगेका मुख्यमन्त्री नीतीश कुमारले हताहत भएका परिवारलाई सरकारका तर्फबाट राहत उपलब्ध गराइने बताएका छन् ।