पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

रौतहटमा वनक्षेत्र अतिक्रमणको चपेटामा, रोकथाम तथा नियन्त्रणमा चुनौती

२०८० आश्विन २९, सोमवार १४:२२ बजे

रौतहट : रौतहटमा पछिल्लो केही वर्षयता वन अतिक्रमण बढ्दै जान थालेको छ । राजनीतिक आवरण,समुदाय र स्थानीय तह आदीको नाँउमा विभिन्न वहानामा वनक्षेत्र अतिक्रमणको चपेटामा पर्दै जान थालेपछि यसको रोकथाम तथा नियन्त्रणमा चुनौती देखिन थालेकोमा चिन्ता जाहेर गरिएको छ ।
डिभिजन वन कार्यालय,रौतहटद्धारा वन अतिक्रमण,चोरी निकासी र आगलागी न्युनिकरण गर्ने उद्देश्यसहित सोमबार वन कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्य खुलेको हो । रौतहटमा पाँच वर्षयता वन अतिक्रमण चर्काे रुपमा हुँदै आएको छ । यसअघि कुल २९ हजार चार सय हेक्टर क्षेत्रफल रहेको रौतहटको वन क्षेत्र अतिक्रमणका कारण यतिबेला २६ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्याँकमा उल्लेख छ ।
पछिल्लो एक दशकयता खासगरी सामुदायिक भवन,मठ मन्दिर,विद्यालय,पार्क,खेलकुद मैदान एवं केन्द्र र कतिपय स्थानमा स्थानीय तहका भौतिक संरचना निर्माण गरिँदा यहाँको वन अतिक्रमित हुन पुगेको कार्यक्रममा जनाइएको हो । रौतहटमा वन अतिक्रमणको गति बढेको वनको तथ्याँकले देखाएको छ ।

राजनीतिक दलले भुमिहीन र सामुदायिक गतिविधि भन्दै अतिक्रमणलाई बढावा दिँदै संरक्षण गर्ने गरेको र सामाजिक आवश्यकता र अन्यत्र जमिन नभएको भन्दै स्थानीय तहका वडा कार्यालयलगाएतका संरचना निर्माण हुँदै आउने क्रम रोकिन सकेको छैन् ।
डिभिजन वन कार्यालयले वन ऐन अनुसार कारवाही गर्न सक्छ तर समाज र कानुन कार्यान्वयन गर्ने एकाईहरुको पर्याप्त सहयोग नहुँदा वनका मुद्धाहरु ओझेलमा पर्ने खतरा रहेको डिभिजन वन कार्यालय रौतहटको वन अधिकृत महालक्ष्मी शर्माले बताउनुभयो । उहाँका अनुसार,वन कार्यालय एक्लैको पहलमा यो समस्या हल गर्न असहज हुन्छ ।
वनवाट रुखहरु कटान गरी चोरी निकासी गर्ने कार्यमा सफलता प्राप्त हुँदै गएको छ । तर वन क्षेत्र अतिक्रमणमा सोचे अनुरुप सफलता पाउन सवैको साथ र सहयोगको खाँचो रहेको अर्का वन अधिकृत रामकेवल यादवको कथन छ । राजनीतिक दल प्रतिबद्ध हुने हो भने वन अतिक्रमणको दायर खुम्चेर जाने उहाँको तर्क छ ।