पाठशाला न्यूज
 २०७९ आश्विन १७, सोमबार    

कम्युनिस्ट चिन्ने आधुनिक विधि

२०७९ भाद्र २१, मंगलबार ०९:५१ बजे

शैलेश भट्टराई

देशमा पञ्चायती शासन थियो। गण्डकी अञ्चलको एउटा ब्राह्मण गाउमा पञ्चायती सरकारले कम्युनिस्ट विरुद्ध एउटा अपरेशन गयो । अपरेशन अन्तर्गत कम्युनिस्टलाई छानीछानी पक्रेर जेल हाल्नुपर्ने थियो त्यो गाउमा सबै कम्युनिस्ट थिएनन् । कांग्रेस पनि थिए ।
पञ्चायती राजमा पञ्चमण्डले त झन् हुने नै भए । एउटा गाउमा सबै मान्छे एकै विचारधाराका हुनु संभव पनि थिएन। गाउमा गएर गाउलेलाई कम्युनिस्ट र गैरकम्युनिस्ट भनेर छुट्याउन पुलिसलाई कठिन भएछ । अनुहार हेरेर चिन्ने कुरा भएन ।
तिमी कम्युनिस्ट हौ कि होइनौ भनेर सोधी–सोधी पत्ता लगाउन झन् कठिन । पञ्चमण्डलेलाई सोधौं, रिस उठेजति जम्मैलाई कम्युनिस्ट भन्देलान् भन्ने डर। लवाइखवाइले अलि अलि चिनिन्थ्यो होला। साधारण र हल्काफुल्का लवाइखवाइ भएका गाउँलेलाई कम्युनिस्ट भनेर समात्न त सकिन्थ्यो होला तर त्यो भरपर्दो र पर्याप्त थिएन। त्यसले गलत नतिजा दिनसक्थ्यो ।
सबै गाउलेले आफ्नो विचार व्यक्त गर्ने कुरा पनि थिएन । म कम्युनिस्ट हु भन्दै पुलिसको सामु झन् को चाहिं आउथ्यो र यत्तिकैमा एकजना असईसापले अपरेशनकै क्रममा फिल्डमै एउटा आइडिया सुझाएछन् । आइडिया अनुसार शंकास्पद ब्राह्मणहरूलाई समातेर एक एक गर्दै उनीहरूको कमिज खोलेर हेर्ने । जनै धारण गरेको छैन भने ऊ खाटी कम्युनिस्ट हो । जनै धारण गरेको छ भने ऊ कम्युनिस्ट होइन ।

असईसापको आइडिया अनुसार नै काम भयो। नभन्दै उनको आइडियाले राम्रो काम ग¥यो। यो विधिबाट पञ्चायती राज्यलाई थुप्रै कम्युनिस्ट कार्यकर्ताहरू हातलागी भयो। यो अपरेशनको सफलता पछि ती असईसापले आफ्नो बढुवा हुन तीन वर्ष बाँकी छँदै सईको फुली लगाउन पाए ।
हुन पनि कम्युनिस्ट ब्राह्मणहरू जनैलाई देखी सहदैनथे । अनेक अनेक बिम्व र उपमा दिन्थे । आन्द्रोदेखि त्यान्द्रोसम्म जे पनि भन्दिन्थे। जनै धारण गर्नुलाई वाहियात काम भन्थे ।
जनै मात्र किन दशैंमा जमरा राख्दैनथे । तिहारमा भाइटीका लगाउन्नथे। गाईपूजा गर्दैनथे । तिनले शिवलि पुज्ने, शिवलिङमा किलोका किलो सुन अर्पण गर्ने, त्यही सुनमा हेराफेरी गर्ने, राम नाम जप्दै रामको नाममा रथयात्रा गर्ने, स्वस्थानी, रामायणको व्याख्या गर्ने, टुप्पी पाल्ने, बाउआमा स्वर्गवास हुदा छोराले र श्रीमान् स्वर्गवास हुँदा श्रीमतीले सेतो वस्त्र धारण गर्ने, किरिया, श्राद्ध आदि गर्ने, एकाह–सप्ताहमा दिल बसाउने, मन्दिर निर्माणमा चन्दा संकलन गर्ने भन्ने जस्ता कुरा त कल्पना बाहिरका थिए ।
हो, यी कल्पना बाहिरका कुरालाई पञ्चायतको अन्त्यपछि उनीहरूले विस्तारै विस्तारै कल्पना भित्र ल्याए । अनि चुनावको मुखमा यथार्थ भित्र ल्याए । राजतन्त्रको अन्त्यपछि यसलाई अझ घनीभूत बनाए। देश र समाज बदल्न हिंडेका उनीहरू आफैं बदलिए र समाजवादको लक्ष्यलाई सफलीभूत बनाए ।
अहिले त सोलोडोलो राज्य नै कम्युनिस्टको कब्जामा छ। सत्ता, सरकार र सडक सबैतिर कम्युनिस्टको हालीमुहाली छ । त्यसैले राज्यले कम्युनिस्ट विरुद्ध अपरेशन गर्ने, त्यसको लागि कम्युनिस्ट पत्ता लगाउने कुरा त अब रहेन । तर जनताले अहिले कम्युनिस्ट पत्ता लगाउनु पयो भने चाहिं ती असईसापको ठीक उल्टो विधि प्रयोग गरे मात्र सफलता मिल्नेछ ।
यो एक्काइसौं शताब्दीको डिजिटल जमानामा ती असईसापको त्यस्तो परम्परागत र पञ्चायती विधिले काम गर्ने कुरा पनि भएन आधुनिक कम्युनिस्ट पत्ता लगाउन आधुनिक विधि नै प्रयोग गर्नुपर्छ ।

(कसैसंग मिल्न गएमा संयोग मात्र मानिनेछ ।)