पाठशाला न्यूज
 २०८० मंसिर १६, शनिबार    

मोटोपन नियन्त्रणले मानिसको आयु बढ्छ

२०८० आश्विन ८, सोमबार १८:१७ बजे

डा. राकेशकुमार साह
काठमाण्डौं–पछिल्लो समय धेरै मानिसको समस्या जस्तै भएको छ मोटोपना । पहिलापहिला मोटो शरीरलाई राम्रो मानिन्थ्यो मोटो हट्टाकट्टा शरीरलाई धनी व्यक्तिको रूपमा परिभाषित गरिन्थ्यो । तर समय बदलिएको छ । आवश्यकता भन्दा बढी मोटोपनले समस्या निम्ताउन सक्छ । त्यसैले पनि मोटा व्यक्ति आफ्नो शरीरको तौल घटाउने प्रयास गरिरहेका हुन्छन् । मोटोपना धेरै मानिसको समस्याको रूपमा देखिएको छ । अत्यधिक मोटो भएकै कारण धेरैले खाना नै खान छाडेर भोकै बसेका हुन्छन् । तर के खानै छाडेर मात्रै शरीरको मोटोपना कम हुनसक्छ ? यिनै विषयमा आधारित रहेर बेराटीक सर्जन डा. राकेशकुमार साहसँग गरिएको कुराकानीको सम्पादित अंश : 
पछिल्लो समय बढ्दै गएको मोटोपनको समस्यालाई कसरी बुझ्ने ?
मोटोपन भनेको अहिलेको समयमा हामी एउटा एपिडेमिक भन्छौँ । यो एउटा जटिल रोग हो । यो संसारमा द्रूत गतिमा फैलिरहेको छ । यसलाई समयमा नै पहिचान गरेर उपचार गर्नुपर्छ । मोटोपनले अहिले हरेक उमेरका मानिसमा विकराल समस्या सिर्जना गरेको छ ।
मोटोपना बढ्नुको कारण के हो ?
अहिलेको हाम्रो समस्या बदलिँदो जीवनशैली र अस्वस्थ खानपान हो । अहिले मानिसले सजिलै बस चढ्न सक्छन्। लिफ्टहरू प्रयोग गर्न सक्छन् । खानपानमा पनि जंक फुडहरू सहरदेखि गाउँगाउँमा पुगिसकेको छ । बजारमा पाइने पेय पदार्थको बढी सेवनले पनि मोटोपना बढेको छ ।
बेराटीक सर्जन भएर काम गरेको अनुभवमा कस्तो व्यक्तिमा मोटोपनाको समस्या धेरै देखिएको छ ?
मोटोपनाको बढी समस्या छोरी मान्छेमा देखिन्छ । छोरा मान्छेमा यो समस्या नभएको होइन तर छोरी मान्छेमा धेरै छ । उमेरको हकमा २० देखि ४० वर्षसम्मका मानिस हाम्रोमा यो समस्या लिएर आउनुहुन्छ । यो उमेरकालाई खानपान जीवनशैली र कतिपयमा वंशानुगत कारणले पनि मोटोपन बढेको छ। मोटोपन भएपछि पेटमा बोसो लाग्ने हुन्छ । यसले धेरै स्वास्थ्य समस्या सिर्जना गर्छ ।

मोटोपनाले कस्तो कस्तो समस्या निम्त्याउने हो ?
मोटोपनले कुनै पनि शरीरको अङ्गलाई छोड्दैन। मुटुको रोग लगाउँछ । हृदयाघात हुने, ब्लड प्रेसर बढ्ने, पक्षघात हुने, राति घुर्ने समस्या हुने, फोक्सोको समस्या, पित्तथैलीको समस्या, पित्तथैलीको क्यान्सर, छोरी मान्छेमा महिनावारीको समस्या, निःसन्तानको समस्या बढ्दै जाने हुन्छ । केही क्यान्सर मोटोपना भएका मानिसमा देखिने गरेको छ । जोर्नीको समस्या हुने मोटोपना भएको मानिसमा हुन्छ ।
सानै उमेरमा भएको मोटोपनको समस्यालाई समयमै उपचार वा नियन्त्रण गरेन भने पछिसम्म असर गर्ने हो ?
पहिला प्रेसर र सुगर उमेर बढ्दै जाँदा हुन्थ्यो। आजभोलि मोटोपनको कारणले प्रेसर र सुगर युवा उमेरमा पनि हुने गरेको छ । यो पछिसम्म रहने गर्छ । बालबालिकामा भएको मोटोपना उमेरमा नै नियन्त्रण गर्नुपर्छ । समयमा नियन्त्रण नगरे पनि समस्या हुन्छ ।
खानपानमा कसरी ध्यान दिने ?
स्वस्थ खाना खानुपर्छ । हरियो सागपात बढी मात्रामा खाने, फलफूल धरै खाने गर्नुपर्छ । जंकफुड र बजारमा पाइने पेय पदार्थ खानु हुँदैन । धेरै बाहिरका खाने कुराहरू चिल्लो पिरो खानु हुँदैन । सलाद (काँक्रो, टमाटर, गाँजर आदि) खाने । आँप र केरा बाहेकका फलफूलहरू खान सकिन्छ ।

कस्तो अवस्थामा उपचारसम्म जानुपर्ने हो ?
अरु रोगहरू जसमा सुगर भयो, प्रेसर भयो, मष्तिष्कघात भयो, हृदयाघात भयो, क्यान्सर भयो, छोरी मान्छेमा महिनावारिको गडबडी र निःसन्तानका समस्या भयो भने यस्ता रोगलाई नियन्त्रण गर्नुपर्छ । जब मोटोपनाको कन्ट्रोल हुन्छ मानिसको आयु पनि बढ्छ । किनकी मोटोपनाको कारणले धेरै मान्छेले अल्पआयुमा नै मृत्युको मुखमा पुगेका छन्। त्यसैले यसको उपचार समयमा गर्नुपर्छ ।
मोटोपना नहोस् भनेर के के कुरामा ध्यान दिने ?
खानपिनमा ध्यान दिने, शारीरिक व्यायाममा ध्यान दिने, जीवन शैलीलाई परिवर्तन गर्ने गर्नुपर्छ। थोरै बाटो छ भनेर हिँड्ने बानीको विकास गर्नुपर्छ । कुनै भवनको चार वा पाँच तलामा जानु छ भने लिफ्टको प्रयोग गर्नु हुँदैन । बाहिरका खाना कम गर्ने गर्दा हामी मोटोपनबाट जोगिन सक्छौँ । यो समस्या हो भनेर समाधान खोज्ने हो भने समाधान खोज्न सकिन्छ । यसबाट जोगिन सजिलै पाउने मैदाबाट बनेको खाना खानु हुँदैन ।