पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा जापान

२०८० चैत्र १५, बिहीबार ०९:३१ बजे

एजेन्सी : जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो ।
चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ।
वैज्ञानिकहरु यसको योजना निर्माणमा जुटिरहेका छन् र यसैबीचमा जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी पनि सुरु गरेका छन् ।
जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरुले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मंगल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । योसँगै पृथ्वीभन्दा बाहिर मानिसहरुलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ ।

अन्तरग्रह रेलसेवाको प्रोटोटाइपमा काम हुँदै
यो कुरा पढिरहँदा कुनै साइन्स फन्टासी जस्तो लाग्नसक्छ । तर, यो सत्य हो कि जापानी शोधकर्ताहरु यसका लागि एउटा जिवन्त आवास बनाउने योजनामा जुटेका छन् । यो एउटा सोली आकारको भवन हुनेछ जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।
उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउनेछ। यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधाहरु हुनेछन् ।
त्यसमा एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिटका साथै हरियाली र पानीको सुविधा पनि हुनेछ । काजिमा कन्स्ट्रक्सनले यो भवनको एउटा काल्पनिक नमूना पेस गरेको छ, जसमा यसको पूर्ण योजना देखाइएको छ ।
साधारण भाषामा भन्नुपर्दा यो एउटा उल्टो सोली जस्तै हो जुन पृथ्वीजस्तै लगातार घुमिरहनेछ । परिक्रमणका कारण यसको केन्द्रमा एउटा दबाब सिर्जना हुनेछ जसका कारण यसभित्र पृथ्वीमै जस्तो गुरुत्वाकर्षणको अनुभूति हुनेछ ।

वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा १३ सय फिट अग्लो तथा ३२८ फिट व्यासको एउटा प्रोटोटाइप तयार हुनेछ ।
यद्यपि यसको अन्तिम भेरिएन्ट बनेर सञ्चालन हुनका लागि भने एक शताब्दीसम्मको समय लाग्नसक्छ ।