पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

जुम्लाकी सुनमायाको विश्व नम्बर १ बन्ने सपना

२०७९ भाद्र १८, शनिबार १५:०७ बजे

काठमाडौं–विश्वकै प्रतिष्ठित अल्ट्रा रेस सीसीसी यूटीएमबी मोन्ट ब्लांकको १०० किलोमिटर दौडमा दोस्रो भएर सुनमाया बुढाले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुलिन् ।
च्याम्पियन बनेकी फ्रान्सेली ब्लेन्डिन हिरोन्डेलसँगै सुनमायाले पनि कोर्ष रेकर्ड तोडिन् । सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । पहिलो भएकी हिरोन्डेलले सुनमाया भन्दा करिब ५ मिनेट छिटो ११ घण्टा ४० मिनेट ५५ सेकेण्डमा दौड पूरा गरेकी थिइन् ।
फ्रान्समा भएको यो प्रतियोगितामा सहभागी हुन जानुअघि सुनमायाको खुट्टामा चोट लागेको थियो । जसले गर्दा उनको सहभागिता अन्यौलमा थियो । तर निरन्तरको मिहिनेत र टिम वर्कका कारण उनले प्रतियोगितामा सहभागिता जनाइन् र उपविजेता बनेर चर्चा कमाइन् ।
फ्रान्स जानु एक महिना अघि मेरो खुट्टामा चोट लाग्यो । जसले गर्दा टिमका सदस्यहरु डराए । क्यान्सिल नै गर्नुपर्छ कि भन्नेसम्म कुरा भएको थियो । एकदम दुखेमा क्यान्सिल गर्ने नभए जाने भन्ने भयो,सुनमायाले भनिन्, टिमस“ग कुरा गरेपछि दुई हप्ता जति काठमाडौंमा आएर फिजियो गराएँ । अनि फेरि जुम्लामै फर्केर दुई हप्ता ट्रेनिङ गरेर फ्रान्स गए ।
शीर्ष १० मा पर्दा पनि राम्रै हुने उनीहरुको सोच थियो । दोस्रो हुने सोचेको थिइनँ । राम्रो समयमा आफ्नो वेष्ट दिएर सकाउँछु भन्ने थियो । दौडिंदै जाँदा राम्रो हुदै गयो । त्यसपछि झन् उर्जा आयो र अझै राम्रो गर्न मोटिभेट भए, काठमाडौं फर्केकी सुनमायाले अनुभव सुनाइन् ।
सुनमायालाई अहिलेको अवस्थामा पु¥याउन जुम्लाकै प्रशिक्षक हरि रोकाय र अष्ट्रेलियाका प्रशिक्षक एन्डी डुबोसिसको भूमिका ठूलो छ । मलाई सहयोग गर्ने धेरै जना हुनुहुन्छ, मलाई यहासम्म आउन हरि गुरुदेखि धेरैले सहयोग गर्नुभएको छ । सबैलाई धन्यवाद ।
हरि रोकाय र अष्ट्रेलियन प्रशिक्षकको सिकाउने शैली फरक भए पनि आफ्नो लागि दुवैको प्रशिक्षण महत्वपूर्ण भएको सुनमायाले बताइन् ।
२३ वर्षीय सुनमायाले कक्षा ७ मा पढ्दादेखि नै दौड सुरु गरेकी थिइन् भने सन् २०१५ मा भएको गोदावरी रन देखि दौडमा सहभागिता जनाउन थालिन् । त्यसपछि उनले अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागिता जनाइन् ।
गत वर्ष थाइल्याण्डमा भएको युटिएमबी थाइल्याण्डमा महिलातर्फ विजेता बनेपछि उनको चर्चा झन् चुलियो । उनी त्यसबेला ओभरअलमा समेत तेस्रो भएकी थिइन् ।
पछिल्लो समय नेपालका धावकहरुले अन्तर्राष्ट्रिय अल्ट्रा रेसहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वमै चिनाएका छन् ।