पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

नेपाल विनवार्ड्स भोलक्यानोज विरुद्ध ४९ रनले विजयी

२०८१ जेष्ठ ४, शुक्रवार ०६:५८ बजे

काठमाडौं – पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल विनवार्ड्स भोलक्यानोज विरुद्ध ४९ रनले विजयी भएको छ।

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको हो । 

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो ।

नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरेका थिए ।

कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन बनाएर आउट भए ।

सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे ।

नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । एक समय नेपालको पहुँचबाट निकै टाढा पुगेको खेलमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक फिनिश गर्दै जित दिलाएका थिए । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

१८ मेमा आजकै प्रतिद्वन्दी विरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा क्यानडा र अमेरिका विरुद्ध विश्वकप वार्म अप खेल खेल्नेछ।