पाठशाला न्यूज
 २०८० मंसिर १६, शनिबार    

फिल्मको प्रदर्शन रोक्ने दिमाग खराब निर्माताको चेतावनी

२०८० कार्तिक ३०, बिहीबार १२:३७ बजे

काठमाडौं : शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म दिमाग खराबका निर्माताले प्रदर्शन रोक्ने चेतावनी दिएका छन् ।
निर्माता रौनकविक्रम कडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन् । हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।
उनका अनुसार,अहिले विदेशी फिल्मले १० वटा शो पाउदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ । नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् ।
कसैलाई निहु खोज्न, रिस राखेर यो गरेको होइन । सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो, बस्नेतले प्रष्टिकरण दिएका छन्,चुनौती लिएरै यो निर्णय गरेका छौं, अफिसियल लेटरमा लेखेर पनि चाँडै सार्वजनिक गर्छौं ।
बस्नेतले वर्ड अफ माउथ राम्रो हुदै गएपनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए । जतिसम्म शो चलिरहन्छ त्यतिञ्जेल प्रोड्यूसरले ५०/५० प्रतिशत शेयर समेत पाउनुपर्छ भन्ने हाम्रो माग हो, बस्नेतले भने ।
उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरुले आम्दानीको ५० प्रतिशत पाउछन् भने वितरकहरुले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्टिब्यूटरको शेयर,करहरु लगायत काटिन्छ ।
तेस्रो हप्तामा निर्माताले पाउने भनेको ३५ प्रतिशत हो, फिल्मको वर्ड अफ माउथ राम्रो हुदै अहिले बल्ल अकुपेन्सी दैनिक बढिरहेको छ, बस्नेतले भने, हल भरिदै गएको छ, तर शो घट्दै गएको छ । विदेशी फिल्मको व्यापार घट्दै जाँदा मात्र बढी पाउने हिसाबको देखिएको छ, त्यतिबेला निर्माताले कति प्रतिशत पाउछन् ? फिल्म निर्माणमा चार करोड रुपैया भन्दा बढी खर्च भएको समेत उनले बताएका छन् । हामीले व्यापार मात्र हेरेका होइनौं,तर कामको मूल्य त हुनुपर्यो भन्ने हो, बस्नेतले भनेका छन् ।