पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

‘पुष्पा २’ ले एक हजार करोडको व्यापार गर्ने विश्लेषकको दावी

२०८० चैत्र २८, बुधवार २१:४९ बजे

काठमाडौं : अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को टिजरले उत्तरदेखि दक्षिणसम्मको भारतीय फिल्म उद्योगमा हलचल मच्चाएको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शले यो फिल्मले बक्स अफिसमा ठूलै ओपनिङ गर्न सक्ने बताएका छन् ।
‘पुष्पा झुक्ने छैन । अब यो बक्स अफिसमा सत्य साबित हुँदैछ,’ उनले भने, ‘बक्स अफिसमा ठूलै कमाइ हुनेछ । म भन्न चाहन्छु कि यसले बक्स अफिसमा प्रचण्ड आँधी ल्याएर आउनेछ । अल्लु अर्जुनले बक्स अफिसमा राज गर्नेछन् ।’
अल्लु अर्जुनको जन्मदिनमा उनी अभिनित यो फिल्मको टिजर सार्वजनिक गरिएको थियो । यो फिल्मले साउथ बाहेक हिन्दीमा पनि ठूलो नाफा कमाउने बताइएको छ । भारतीय फिल्मका व्यापार विश्लेषकहरु ‘पुष्पा २’ पान इण्डिया फिल्म रहेको र यसले हलचल मच्चाउने प्रक्षेपण गरेका छन् ।
व्यापार विश्लेषक रमेश बालाले भने, ‘पुष्पा २ सन् २०२४ को एक मात्र पान इन्डिया फिल्म हो, जसबाट दक्षिण र उत्तर दुवैबाट ठूलो अपेक्षा छ । पुष्प २ बाहुबली र आरआरआरको विरासतलाई अगाडि बढाउने फिल्म हो । पुष्पा २ लाई लिएर देशभरका मानिस निकै उत्साहित छन् ।

उनले भने, ‘पुष्पा २ को बारेमा जति चर्चा चलिरहेको छ, त्यो अरु कुनै फिल्ममा देखिएको छैन । प्रभासले अभिनय गरेका अन्य फिल्म ‘कल्की’ र ‘देवरा’जस्ता फिल्म आउन बाँकी छन् । यी फिल्मको तुलनामा पुष्पा २ सबैभन्दा बढी चर्चामा छ ।
‘पुष्पा २’ अजय देवगनको ‘सिंघम अगेन’सँग भिड्दैछ । व्यापार विश्लेषक गिरीश वानखेडेले अल्लु अर्जुनको फिल्म ‘पुष्पा’को हिन्दी संस्करणले उत्तर भारतीय दर्शकको मनमा स्थान बनाएको भन्दै यो फिल्ममा ब्लकबस्टर फ्रेन्चाइज बन्ने सबै तत्व रहेको बताए ।
बक्स अफिसको दृष्टिकोणबाट हेर्दा अहिले नै केही टिप्पणी गर्न हतार नभएको विश्लेषक बाला बताउँछन् । यदि यसको कथावस्तु पुष्पाको पहिलो भागजस्तै उत्कृष्ट भए १०० करोडको ओपनिङ गर्दै एक हजार करोड भारु कमाउन सक्ने विज्ञ बताउँछन् ।
वानखडेले यो ५०० करोड वा एक हजार करोडको कुरा नभएर त्योभन्दा पनि बढी कमाइ हुने दाबी गरे । प्रदर्शक अक्षय राठीले यसको हाइप हेर्दा सोलो रिलिज हुने सम्भावना रहेको बताए । उनले यो फिल्मले हिन्दीमा मात्रै ४०–५० करोडको ओपनिङ गर्न सक्ने बताए ।