पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

सार्वजनिक जग्गाको माटो चोरी गरेर सेजमा बिक्री

२०८० आश्विन २२, सोमवार १०:०४ बजे

बारा–जीतपुरसिमरा उपमहानगरमा सार्वजनिक जग्गाको माटो चोरी गरेर विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) लाई बिक्री गरेको भेटिएको छ । उपमहानगर वडा नं ११ मा कागजमा नम्बरी जग्गा देखाएर सार्वजनिक जग्गाको माटो चोरी गरी सेजलाई बिक्री गरेको भेटिएको हो ।
सार्वजनिक जग्गाबाट चोरी भएको माटो विशेष आर्थिक क्षेत्र प्राधिकरणभित्र उद्योगका लागि आवश्यक भौतिक संरचना बनाइरहेका ग्रेनाइट टायल कम्पनी र लक्ष्मी ग्रेनाइट ईण्डष्ट्रीलाई बिक्री गरेको भेटिएको हो । स्थलगत अनुगमनको क्रममा सेजमा निर्माणाधीन उद्योगहरूमा ठुलो परिमाणमा माटो थुपारिएको थियो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका सहायक इन्जिनियर अजय चौधरीले सेजले उद्योगीलाई जग्गा भाडामा दिएकाले ठेकेदारले माटो कहाँबाट ल्याएको हो भन्ने विषयमा जानकारी नभएको बताए ।
‘उहाँहरूले माटो चोरी गरेर ल्याउनु भएको हो कि कसैको निजी जग्गाबाट किनेर ल्याउनु भयो भन्ने हामीलाई थाहा हुँदैन,’ चौधरीले भने । नम्बरी जग्गाबाट एक सय टिपर माटोका लागि उपमहानगर वडा नं ११ का वडाध्यक्ष विन्दालाल साहसहित वडा सदस्यहरूले उपमहानगरमा सिफारिस पत्र पठाएका थिए । नम्बरी जग्गाको लालपुर्जासहित वडाले पठाएको सिफारिसमा थोरै परिमाण उल्लेख भएको भन्दै उपमहानगरले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी ७० हजार रुपैयाँ राजस्व लिएर माटो उत्खनन गर्ने छुटपुर्जी दिएको थियो ।
सिफारिस पत्रमा साबिक फत्तेपुर गाविस वडा नं ९ हाल जीतपुरसिमरा–११ को कित्ता नम्बर ३५ को ५ बिघा जग्गाबाट एक सय टिपर माटो निकाल्ने उल्लेख छ ।
तर, माटो भने कित्ता नं ४० को १८ बिघा सार्वजनिक जग्गाबाट निकालिएको उपमहानगरका इन्जिनियर रुपाखेतीले जनाए । १८ बिघा सार्वजनिक जग्गामध्ये २ बिघाबाट करिब डेढदेखि २ मिटर गहिराइमा ८ सयदेखि एक हजार टिपर माटो उत्खनन भएको उपमहानगरले जनाएको छ ।
‘उपमहानगर वडा नं ११ बस्ने हसिना चुरीहारका छोरा महमददिन मियाँ चुरीहारको नाममा दर्ता रहेको साबिक फत्तेपुर गाविस वडा नं ९ (हाल जीतपुर सिमरा उपमहानगर वडा नं ११) को कित्ता नं ३५ को ५ बिघा जग्गाबाट सय टिपर निकाल्ने भएकाले त्यहाँ कार्यालयको नियमनुसार राजस्व बुझिलिई प्रक्रिया अगाडि बढाइदिनु हुन सिफारिस साथ अनुरोध छ,’ वडाध्यक्षले उपमहानगरलाई पठाएको सिफारिस पत्रमा उल्लेख छ ।
सुरुमा सय टिपर माटोका लागि निवेदन लिएर माओवादी नगर कमिटी अध्यक्ष प्रेम बरालसहित राजनीतिक दलका केही व्यक्ति उपमहानगर पुगेका थिए ।
कानुनतः निजी जग्गाबाट माटो उत्खनन गर्नु पूर्व प्राविधिक खटाएर वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ ।
जनप्रतिनिधि र सेजको ठेकेदारको मिलेमतोमा रातभर दर्जनौँको सङ्ख्यामा टिपरले माटो चोरी गरेको भन्दै स्थानीयले उपमहानगरमा उजुरी दिएपछि असोज १९ गते उपमहानगरको प्राविधिक टोली अनुगमनमा पुगेको थियो । अनुगमनमा माटो उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिएर उपमहानगरले थप अनुसन्धान सुरु गरेको छ ।
‘सार्वजनिक जग्गाबाट यति ठुलो परिमाणमा माटो चोरी हुँदा हामीलाई पनि ढिलो गरी थाहा भयो, तर अचम्मको कुरा, वडाध्यक्षहरूले के हेर्नुभएको थियो ? उहाँहरूको कार्यशैली हेर्दा सेजको ठेकेदारसँग मिलेर माटो चोरी गर्न लगाएको जस्तो देखिएको छ,’ रुपाखेतीले भने ।
उपमहानगरले वडाध्यक्षको सिफारिसलाई विश्वास गरी वातावरणीय प्रभाव मूल्याङ्कन पनि नगरी राजस्व रकम लिएर २ दिनभित्र अनुमति दिएको थियो । जनप्रतिनिधिको मिलेमतोमा अवैध ढंगले सार्वजनिक जग्गाबाट माटो चोरी हुँदा लाखौँ रुपैयाँ राजस्व समेत हिनामिना भएको छ भने वडाध्यक्षहरुमाथिको विश्वास समेत गुमेको रुपाखेतीले जनाए । अहिले स्थानीय बजारमा माटोको प्रतिटिपर ४ हजार रुपैयाँ पर्दछ ।