पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: अफगानिस्तानको श्रीलंका माथि ७ विकेटको सानदार जित

२०८० कार्तिक १४, मङ्गलवार ०८:१९ बजे

काठमाण्डौं- अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि ७ विकेटको सानदार जित हात पारेको छ । अफगानिस्तानले यसअघि पाकिस्तान र इंग्ल्यान्डलाई हराएको थियो ।

जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई ६३ बलमा ६ चौका र ३ छक्कासहित ७३ रनमा नट आउट रहे । कप्तान हश्मातुल्लाह शाहिदी ७४ बलमा २ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।

अफगानिस्तानले ओपनर रहमानउल्लाह गुरबाजलाई शून्यमै गुमाएको थियो । तर दोस्रो विकेटका लागि इब्राहिम जद्रान र रहमात शाहले ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

जद्रान ५७ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । तेस्रो विकेटका लागि रहमात शाह र कप्तान हश्मातुल्लाह शाहिदीले ५८ रनको साझेदारी गरेका थिए । श्रीलंकाका दिलशान मदुशानकाले ९ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले १ विकेट लिए ।

त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ४१ रनमा अल आउट भयो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ६० बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए ।

कप्तान कुशल मेन्डिसले ५० बलमा ३ चौकासहित ३९ तथा सदिरा समाराविक्रमाले ४० बलमा ३ चौकासहित ३६ रन बनाए । दिमुथ करुणारत्ने १५, चरिथ असलंका २२, धनन्जय डि सिल्भा १४ र एन्जिलो म्याथ्युज २३ रनमा आउट भए ।

अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाई र राशिद खानले एक एक विकेट लिए ।

अफगानिस्तान ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ६ खेलमा ८ अंक भएपनि चौथो स्थानमा छ । अफगानिस्तानले अव नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र अष्ट्रेलियासँग खेल्नेछ । सबै खेलमा विजयी भएमा अफगानिस्तान १२ अंकका साथ सेमिफाइनल खेल्ने सम्भावना रहन्छ । श्रीलंका ६ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ । श्रीलंकाले अव भारत, बंगलादेश र न्युजिल्यान्डसँग खेल्न बाँकी छ ।