पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

तिलौराकोटतिर

२०८० श्रावण १०, बुधवार २१:१५ बजे

(यात्रा संस्मरण)

-रमेशमोहन अधिकारी

आज २०७९ साल मङ्सिर २३ गते । मलाई बुद्धभूमि नगरपालिकाको गबहदहबाबाट बाइकमा डुमरासम्म ल्याइदिएका छन् मित्रपुत्र विक्रम अधिकारीले । डुमराबाट तिलौराकोट जानु छ मलाई । आजभन्दा झन्डै तीन हजार वर्षअघि विकसित सहरको भग्नावशेष तिलौराकोट । आजभन्दा झन्डै साढे छब्बिस सयवर्षअघि गौतम बुद्ध हुर्के बढेको स्थान । उनका पिता शुद्धोदनको दरबार भएको स्थान । शुद्धोदनको राजधानी ।

आज पनि म एक्लो छु र अन्योलमा । मित्र विष्णुको सल्लाहअनुसार गोरुसिङ्गेका लागि जिप चढ्छु तर गोरुसिङ्गेबाट तिलौराकोट जाने गाडी अगाडि गइसकेकोरहेछ । यताबाट जम्मा दुइटा गाडी रहेछन् त्यता जाने । ती दश बज्नुअगावै छुटिसक्तारहेछन् । गोरुसिङ्गे नजिकबाटै छुट्टै बाटो रहेछ तौलिहवा जाने । त्यस बाटातिर लाग्छु । अधि अघि एकजना महिला छिन् । वनको बाटो अपरिचित ठाउँ, जे पनि हुन सक्छ । महिला भएकाले डराउँदिनँ र अलिकति दूरी राखेर लाग्छु पछाडि । उनलाई पनि यस मान्छेले किन पछ्याइरहेको छ, भन्ने लागेको होला । जे होस्, हिँडेको पाँच मिनेटपछि बाटाको मोडमा हाम्रो भेट हुन्छ । हामी दुवैले एक अर्काका बारेमा बुझ्छौँ र म मेरो लक्ष्य बताउँछु । ‘यता गाडी पाइँदैन’ भन्छिन् उनी पनि । उनलाई लग्न एउटा बाइक आउँदैरहेछ । उनी मलाई चार नम्बर वडा कार्यालयमा गएर गाडी चढ्न सुझाव दिन्छिन् । म उनलाई धन्यवाद दिँदै छुट्टिएर गोरुसिङ्गे प्रहरी कार्यालयनेरबाट हायस चढ्छु ।
चार नम्बर वडा प्रसिद्ध चोक रहेछ कपिलवस्तु नगरपालिकाको । यहाँबाट तौलिहवा जाने बस पाइनेरहेछ । तौलिहवाबाट तीन किलोमिटर हिँडेर वा कुनै साधनद्वारा जानुपर्नेरहेछ तिलौराकोट । बसमा मसँगै बसेका म सरहकै उमेरका एक जना भलादमी तौलिहवा जान लागेका रहेछन् । उनले पनि ओर्लने ठाउँ बताइदिन्छन् । बसबाट ओर्लेपछि झन्डै मेरै उमेरका थारू जोडी भेटिन्छन् । अटो उनीहरूले नै खोज्छन् र मलाई बोलाउँछन्, मलाई सजिलो पनि हुन्छ । दरबारनेरै रोकिन्छ अटो । त्यहाँ भेटिन्छन् गुल्मीमा जन्मे पनि दशकौँ यहीँ बिताएका एक जना पाका व्यक्तित्व । अलि वर ओर्लनुभएछ भन्दै अलि परसम्म पुगेर दरबारको पश्चिमी द्वार देखाइदिन्छन् । द्वारछेउको पसलमा एक बोतल पानी किनेर दरबारको भग्नावशेष परिसरभित्र पस्छु ।
द्वारको सुरु जसोबाट नै फलेकमार्ग छ । सो मार्गका फलेकहरू तल सिमेन्टेड ब्लक वा पिल्लर छ । ब्लकभन्दा पनि पिल्लर नै होला । पिल्लर भनेर धेरै अग्लो पनि छैन बाटो । भुइँबाट एक फिट अग्लो होेला बाटो । त्यहाँ पानी पर्दा अर्थात् बर्खामा पानी जम्ने हुनाले वा पर्यटकहरू निश्चित स्थानहरूबाटै हिँडुन् भनेर वा सुकिला मानिस सुकिलै रहुन् भनेर होला फलेकमार्ग बनाइएको । जे होस्, त्यस बाटाबाट हिँड्न पनि रमाइलै लाग्छ ।
प्रवेशमार्गमै छ सबैभन्दा पुरानो भग्नावशेष ।
यहाँ जम्मा तीनओटा भग्नावशेष रहेको मानिँदो रहेछ । हाम्रा आँखाहरूले भने थुप्रै भग्नावशेषहरू देख्छौँ । हामीले यसरी धेरै भग्नावशेषहरू देख्ने कारण हामीले बाहिर बाहिर हेरेर हो, बाहिर बाहिर देखेर होे । पुरातात्विकविद्हरू त यन्त्रबाटै जमिनमुनिका चिज देख्छन् र सही कुरा देख्छन् । हामी भने बाहिर देखाइएका वा देखिने कुरा मात्र हेर्छौँ । सत्य एउटा हुन्छ, हामीले देख्ने अर्को पनि हुन सक्छ । त्यसैले हामीले आवरणलाई होइन, सारलाई हेर्नुपर्छ भनिएको होला ।
यी भग्नावशेषहरू कतिपय एकै आकारका, कतिपय होचा र कतिपय अलि अग्ला पनि छन् । यी एक फिटेदेखि पाँच फिटेसम्मका होलान् तर अधिकांश एक दुई फिटे । कतिपय साँघुरा चौकुनाहरू छन् । इनार जस्तो वृत्ताकार साँघुरो संरचना छ । इँटहरू एकैनासका छैनन् । अहिले हामीले प्रयोग गर्ने गरेका जस्ता साना पनि छन् र तीभन्दा तेब्बर बढी लाग्ने साइजका पनि छन् । यी सबै संरचनाहरू हेर्दा यी भग्नावशेषहरू एकै समयका नभई फरक फरक समयका हुन् जस्तो लाग्दछ । यसो हुनुको अर्थ कुनै संरचना शुद्धोदनकै पालाका वा कुनै त्यसभन्दा अगाडिका वा कुनै त्यसपछिका पनि हुन सक्छन् । समय समयमा नयाँ संरचना बनाइएका कारणले वा समय समयमा जिर्णोद्धार गरिएका कारणले वा भइराखेका संरचनाहरू फरक फरक समयमा जिर्णोद्धार गरी राखिएका कारणले पनि विविधता देखिएको हुन सक्छ ।
भग्नावशेषहरूकै छेउमा छ समयमाईको मन्दिर । समयमाई मन्दिरको अगाडिपट्टि दुवै छेउमा छन् साना ठुला हात्तीका प्रतिमूर्तिहरू । यी प्रतिमूर्तिहरू हात्ती जतिकै काला छन् र यिनका निधार निधारमा सेता चन्दन वा पेन्टिङ छन् । साधुहरू छन् दुई तीन जना र तिनकै सङ्गाती छन् दुई तीनजना । महिला श्रद्धालुहरू आइपुगेका छन् र बडो भक्तिपूर्वक पूजा गर्दै छन् समयमाईको र हात्तीहरूको पनि ।
म एक्लै हुनाले यस पुरातात्विक, ऐतिहासिक तथा धार्मिक स्थलको मसमेतको फोटो खिचिदिन कहिले अरूलाई अनुरोध गर्छु, कहिले सेल्फी खिच्छु ।
यही क्रमले परिसरभित्रको अवलोकन गरेर निस्कने बेलामा एकजना साथीसित फोन सम्पर्क हुन्छ । उनले “परिसरबाहिर नजिर्कै पुरातात्विक सङ्ग्रहालय छ, हेर्नुहोला” भनेका छन् । त्यसैले परिसरबाहिर निस्कनासाथ लाग्छु कपिलवस्तु सङ्ग्रहालयतर्फ। तिलौराकोेकोटको पश्चिमीद्वारबाट ३०० मिटर जति पर भए पनि कपिलवस्तु नगरपालिका—३ मा पर्ने यस ठाउँको नाम रामघाट रहेछ । यहाँ सानो बजार छ र पुलपारि अटो स्टेसन ।
कपिलवस्तु सङ्ग्रहालयमा प्रवेश गर्न नेपाली पर्यटकलाई रु.१५।— लाग्नेरहेछ । फोटो खिच्न सामान्य र भिडिओका लागि छुट्टाछुट्टै दर रहेछन् । मसँग क्यामरा नभएकाले सरासर भित्र प्रवेश गर्छु ।
तीनओटा कोठामा पुरातात्विक वस्तुहरू राखिएका छन् । फरक फरक प्रकारका वस्तुहरू फरक फरक सोकेसमा राखिएका छन् । सोकेसमा सजाइएका सबै वस्तुको नाम तथा समयको उल्लेख हुनाले गाइडको आवश्यकता महसुस हुन्न । पुराना इँटका टुक्रा, माटाका भाँडा, छठमा प्रयोग गरिने जस्तो माटे भाँडा, चुरा, घाँस वा बाली काट्न प्रयोग गरिने हँसिया, कचिया, हात्ती, घोडा, चराका प्रतिमूर्तिहरू, मानवाकृतिहरू पुराना इँटका अवशेष आदि छन् । यी पुरातात्विक वस्तुहरू चिनाउने पोस्टरहरूसमेत भित्तामा टाँसिएका छन् । ती पोस्टरहरूमा भने तिलौराकोट दरबारको भग्नावशेषका तस्बिरहरूसमेत छन् । यी तस्बिरहरूले दरबार क्षेत्र डुल्दा बुझ्न र थाहा पाउन नसकिएका कुराहरूलाई हेक्का राख्न सहयोग गर्दछन् । यसका साथै गौतम बुद्ध, लुम्बिनी र तिलौराकोटका बारेमा लेखिएका पुस्तक तथा पत्रिकाहरू थोरै भए पनि प्रवेश कक्षमै देख्न पाइन्छ । यी वस्तुहरू हेर्दा हेरिरहूँ जस्ता लाग्ने रहेछन् । आजभन्दा हजारौँ वर्षअघिका वस्तुहरू देख्ता बडो आनन्द र गौरव महसुस हुन्छ ।
कपिलवस्तुमा राजा शुद्धोदनले राज्य गर्नुभन्दा ३०० वर्षअगाडिदेखि नै यसको अस्तित्व रहेछ । आजभन्दा झन्डै तीनहजार वर्षअघि नै यो अस्तित्ववान् रहेछ । उसबेला नै यहाँ सुन्दर र व्यवस्थित नगर रहेछ, जहाँ शुद्धोदन पनि एक क्रमका रहेछन् । सिद्धार्थ गौतम जन्मँदा सुन्दर नगरका रूपमा रहेको यो बस्ती पछि कुनै कारणले नष्ट भएछ र जङ्गलमा परिणत भएछ । पुनः केही शताब्दीपश्चात् आबाद भएको रहेछ ।
कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र मात्र नभई यस दरबारका अगाडिका ठाउँहरू तथा वरपरका गाउँहरूसमेत पुरातात्विक महत्वका रहेछन् ।
अँस कपिलवस्तु सङ्ग्रहालयबाट निस्कँदा भोक, तिर्खा दुवै लागेको थियो । सानो बजार भए पनि बाहिरी खाजा खान मन लागेन । तिर्खा मेट्न एक बोतल पानी लिएँ । एउटा होटलअगाडि कुर्सी खाली नै थियो, सोधेर बसेँ । भैरहवा जान तौलिहवा पुग्नुपर्ने रहेछ । होटलवाला बुढा मनकारी रहेछन् । उनले एक जना युवकलाई अवधी भाषामा अटोमा चढाइदिन अह्राए वा आदेश दिए, “कुनै चिनेको ड्राइभर देखिस् भने पारिबाट एक सिट खाली ल्याउन भन्नू ।” नभन्दै ती युवकले पुल पारि जान लागेको अटो ड्राइभरलाई भने र उनले सिट पनि ल्याइदिए । म उनीहरूलाई धन्यवाद दिँदै तौलिहवा लागेँ ।
तौलिहवाबाट भैरहवा जान बस कहाँ लाग्ने हो, मलाई थाहा थिएन । तौलिहवा पुगेपछि अटो चालकले ओर्लिन दिए । मलाई पनि गाडी चढ्ने ठाउँ कट्ने हो कि भन्ने चिन्ता थियो । ओर्लिहालेँ । पर एउटा बस देखेर त्यहाँ गएको त, स्टेसन अलि परै छ भने । बस पार्क जाने सरल बाटो थाहा भए पनि नयाँ मान्छेलाई छोटो बाटो बताउने तरिका उनीहरूलाई आएनछ । उनीहरूले एउटा चोक देखाएर “त्यहाँ गएर सोध्दै सोध्दै जानुस्” भने । त्यहाँ पुग्दा उनीहरूले भनेको बाटो समात्दा झन् अल्मलिउँला जस्तो लाग्यो र अलि पर रहेको पिच रोडबाट जाने विचार गरेँ । रोडले त पक्कै ठाउँमा पुगिन्छ भन्ने लाग्यो र त्यसै गरेँ । नभन्दै हिँड्दा हिँड्दा बस लाग्ने ठाउँमा पुगिहालेँ ।
त्यसरी एक्लै भौँतारिनुपरे पनि मलाई रत्ति विस्मात लागेन किनभने तौलिहवा मेरी आमाको मावली गाउँ थियो । म पो पहिलोपल्ट र एक्लै आएको थिएँ । यस नगरले पो मलाई चिन्दैनथ्यो तर मेरी आमा मावल आउँदाको डोब यतै कतै हुन सक्थ्यो । आमाका मावली ज्ञवालीहरूसँग मेरो चिनजान भएको भए यतै कतैबाट मलाई देखेर बोलाउँदा हुन्, “ए रमेश १ तिमी कता भौँतारिरहेका १ हामी तिम्री आमाका मावली । आऊ फुर्सत भए रात पनि बसौला, नभए खाजा खाएर जाऔला । भोक र हैरानीले ओठ पनि कलेटी परे जस्ता छन् ।” तर अहँ, कुनै ज्ञवालीले बोलाएनन् । नाता परे पनि नपरे पनि कवि रुद्र ज्ञवाली भैरहवामै हुनुहुन्थ्यो होला र झविन्द्र ज्ञवाली हेटौँडामा । त्यसभन्दा बाहेक एक जना अर्की ज्ञवालीसँग परिचय भएको थियो मोदनाथ प्रश्रितकी बुहारी रमासँग । यीभन्दा बाहेक पनि फेसबुकमा साथी हुनुहुँदोरहेछ कतिपय ज्ञवाली कोही यतैका, कोही अन्तैका । कवि तथा समालोचक रामप्रसाद ज्ञवालीसँग राम्रो सम्बन्ध छ, यस्तै छवि ज्ञवाली, नारायण ज्ञवाली र राजनीतिक व्यक्तित्व प्रदीप ज्ञवालीहरू पनि फेसबुकमा साथी हुनुहुन्छ । तर कोही गुल्मी, कोही पाल्पा वा कोही काठमाडौँतिर ।
यसमा पनि मलाई कुनै गुनासो छैन किनभने उहाँहरूमध्ये कोही यतै भए पनि मैले कसैलाई खबर गरेको थिइनँ नि १
अँ, काउन्टरमा सोधेँ, “बस कति बजे गुड्ने हो रु“ तीन बजे ।” “कति समय लाग्छ रु” “एक घण्टा तिस मिनेट ।” मैले जसरी प्रश्न सोधेँ, उसै गरी उत्तर पाएँ । चित्त पनि बुझ्यो । खाजा खान भ्याएको थिइनँ, चाहेको पनि थिइनँ । मैले नभ्याएर र नचाहेर मात्र नहुने रहेछ । भोकले मान्दो रहेनछ । विकल्प सोच्न बाध्य भएँ । बस नेरै बदाम बेच्नेहरू थिए । बदाम लिएँ । सुन्तला साथमै थियो । पहिले सुन्तला खाएँ र गाडी गुड्न थालेपछि बदाम । बदाम खाँदै यात्रा गर्दा पनि एक किसिमको मज्जा नै हुँदोरहेछ । पेटले पनि औषधी पाउने, समय कटेको पनि खास ख्याल नहुने ।
बस गुडिरह्यो मैले पनि बाटामा दृष्टि लगाइराखेँ । तौलिहवादेखि भैरहवासम्मै सुन्दर फाँटहरू छन् । कतै धान काटिएका खेतहरू, कहीँ गहुँ लगाइसकिएका, कहीँ भर्खरै बाँझो फोरिएका खेतहरू देखिन्थे । कतै मन नलागी नलागी फुलिरहेका तोरीहरू, कतै आँपका बगैँचा, कतै सिसौ घारीहरू देखिन्थे । भैरहवा पुग्नै आँट्ता भने केरा, काउली आदिका खेती पनि देखिन्थे ।
म आज बिहान पूर्व पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुकै डुमराबाट गाडी चढेको थिएँ तर तौलिहवाबाट अघि बढ्दा पनि डुमरा देखियो । यहाँको स्थाननाम पाटीमा भने डुम्रा लेखिएको थियो । यो भेद भाषिकागत वा लवजगत हुन सक्छ ।
मलाई ताज्जुब लागिरहेको एउटा कुरो, त्यो यताको विशेषता हो कि जस्तो लाग्छ । यताका कतिपय स्थानका नामहरूमा हवा प्रत्ययका रूपमा आएका छन् । जस्तै –गबदहबा, गोटिहवा, मिनाहवा, कोटिहवा, तौलिहवा, भैरहवा, निग्लिहवा, पिपरहवा, पक्लिहवा आदि । यस्तै अन्त्यमा हा, या, रा लाग्ने नामहरू । पर्सा नाम गरेका स्थानहरू पनि नेपालमा कति हुन् कुन्नि १ पर्सा जिल्ला, पर्सा चितवन, पर्सा, सर्लाही पर्सा कपिलवस्तु वा रुपन्देही ।
बाटाका गाउँहरूका नामहरू पनि कति सुन्दर छन्—मायादेवी, शुद्धोदन, लुम्बिनी ।
तौलिहवाबाट भैरहवातिर अघि बढ्दा सुरुमा भारतको बनारसतिर जाँदाखेरिको जस्तो उराठिलो लाग्छ तर गाडी अगाडि बढ्दै गर्दा भने भारतकै हरिद्वारनेर पुग्दाको जस्तो आनन्द लाग्छ ।
अँ, भैरहवामा मैले फेरि गाडी बदलिनु छ । गाडीबाट ओर्लेपछि अटो ड्राइभरहरू आशालु आँखाहरूले हेर्छन् । नजिकै बस स्टेसन हुनाले उनीहरूलाई नै सोधेर स्टेसनतिर लाग्छु । बस पनि भेटिहाल्छु र आधा घण्टापछि अर्थात् साँझ पाँच बजे पुग्छु तिलोत्तमा नगरपालिकाका मेरा आत्मीय साहित्यिक मित्र रमेश समर्थनकहाँ ।

लेखन–२०७९ साल पौष १३ गते ।