पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

कप्तान देव खनालको शतकसँगै नेपालले यु१९ प्रिमियर कपमा इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दियो

२०८० आश्विन २५, बिहीवार १३:०४ बजे

काठमाडौं- कप्तान देव खनालको शतकसँगै नेपालले यु१९ प्रिमियर कपमा इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ।

मलेसियाको वाइएसडी युकेएम ओभल बाँगी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको हो।

नेपालका कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय पारी खेले। उनिसँग दीपक बोहराले राम्रो पार्टनरसिप गरे। बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रन बनाए। पाँचौं ओभरको सुरुवातसम्म जम्मा १० रन जोडेर २ विकेट गुमाएको नेपालका लागि देव र दीपकले १ सय ६६ रनको साझेदारी गरेका हुन्।

कप्तान खनालले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको सानदार सतक हानेका थिए।

नेपालका ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए। विकेटकिपर दीपकप्रसाद डुम्रेले ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए। इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट, सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट, समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए।