पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासत मुक्त

२०८० चैत्र १६, शुक्रवार २१:४५ बजे

काठमाडौं-  प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई हिरासतमुक्त गरेको छ ।

बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकीलको कार्यालयले बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर साँझ स्वास्थ्यको कारण देखाउँदै उनलाई अस्पताल भर्ना गरिएको थियो । ‘स्वास्थ्य समेतलाई आधार मानेर बाहिरै राखेर अनुसन्धान गर्ने गरी छाडेका हौं’, अधिकारीले भने ।

प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो । बमले एक युवतीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । उनी प्रहरी नियन्त्रणबाट छुटे पनि अनुसन्धान जारी रहेको अधिकारीले बताए ।