पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर स्थित महादेव मन्दिरमा पूजाआजा

२०८० माघ ३, बुधवार ०८:५३ बजे

रौतहट : पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा पूजाआजा गरेका छन् ।
मंगलवार जिल्लाको मध्यभागमा पर्ने शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए । सो क्रममा बाटोका दुवैतर्फ बसेका हजारौँ समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए । उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकले राजा आऊ देश बचाऊ भनेर नारा लगाएका थिए ।
उनको स्वागतमा शिवनगर चोकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो । मन्दिरछेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीय बासिन्दाको विरोधपछि हटाएनन् ।
प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिस सहभागी थिए ।
पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए । उनले सम्बोधन गरेनन् । उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।