पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

भुकम्पमा परी जाजरकोट र रुकुममा गरी ६३ जनाले ज्यान गुमाएको पुष्टि

२०८० कार्तिक १८, शनिवार ०८:२७ बजे

काठमाण्डौं : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

उद्धारको टोली जाजरकोट जाँदै

जाजरकोट र रुकुमपश्चिममा भुकम्पमा परेका नागरिकको उद्धारका लागि दुवै जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमूखहरुको नेतृत्वमा उद्धारका लागि प्रहरी परिचालन भएका छन् ।

अन्य सशस्त्र प्रहरी र नेपाली सेना पनि साथमा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले भने,’ जिल्लामा रहेको प्रहरी जनशक्तिका साथै थप ६० जनाको टोली सुर्खेतबाट पठाइएको छ । मुगुबाट म पनि भुकम्प प्रभावित क्षेत्रमा जाँदैछु । घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट एम्बुलेन्स पनि पठाइएको छ । यता भूकम्पमा परी जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। १०० बढी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई थपउपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।