काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चिकित्सकले अस्पताल भर्ना हुन दिएको सुझाव नमानी हिरासत मै बसेका छन्।
पर्सामा बयान सकिएपछि बुधबार काठमाडौं हुँदै पोखरा लगिएको लामिछानेको पर्सामा स्वास्थ्य जाँच उर्दा उनको रक्तचाप १६०/११० देखिएको थियो । तर पोखरा पुर्याउँदा रक्तचाप अझ बढेको पाइएपछि फिस्टेल अस्पतालका चिकित्सकले भर्ना भएर उपचारमा रहन सुझाव दिएका थिए । तर रविले अस्पतालमा भर्ना हुन अस्वीकार गरेका छन् ।
बुधबार कास्की पुर्याइएका उनलाई त्यहाँस्थित प्रहरीले हिरासतमा लैजानुअघि स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको छ । जहाँ उनको स्वास्थ्य परीक्षण हुँदा रक्तचाप अझै बढेको देखिएको छ । कास्कीमा रक्तचाप बढेर १७०/१०० देखिएको उनका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार प्रमोद न्यौपानेले बताएका छन्।
अस्पतालका फिजिसियन डा. वसन्त ताम्राकारले लामिछानेको रक्तचाप उच्च अवस्थामा रहेको बताए । स्वास्थ्य परीक्षणबाट लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० देखिएको उनले बताए । मुटुको चालमा पनि समस्या देखिएको पछि इको परीक्षण गरेर उनलाई अस्पतालमा भर्ना हुन भनिएको थियो ।
डा. ताम्राकारले रक्तचाप बढिरहेकाले यस्तो अवस्थाका व्यक्तिले भर्ना भएर निगरानीमा बस्नुपर्छ । तर रविले हिरासतमै औषधि लिएर आराम गर्ने जवाफ ताम्राकारलाई दिएका छन् ।
उनलात्तई अस्पताल भर्ना हुन परिवारका सदस्य र सचिवालयका सदस्यले पनि भनेका थिए । तर उनले मुटु दह्रो रहेको बताउँदै हिरासतमै बस्न गएका हुन् । लामिछानेलाई चिकित्सकले औषधि दिएका छन् ।।
गत सोमवार सानो पाइला सहकारीको हिनामिना प्रकरणमा बयानका लागि वीरगंज लगिएका रविलाई सिमरा विमानस्थल हुँदै काठमाडौं ल्याएर पोखरा लगिएको हो। अब उनलाई अर्को म्याद थपका लागि बिहीवार अदालतमा उपस्थित गराउने तयारी भएको प्रेस सल्लाहकार न्यौपानेले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी श्यामबाबु ओलियाले रविलाई आज बिहीवार म्याद थपका लागि अदालत लगिने बताएका छन्।