पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

‘ओपेनहाइमर’ले सर्वश्रेष्ठ फिल्मसहित ७ विधामा जित्यो यस बर्षको ओस्कार अवार्ड

२०८० फाल्गुण २८, सोमवार १४:३१ बजे

एजेन्सी- आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको बायोपिकमा आधारित हलिउड फिल्म ‘ओपेनहाइमर’ले यस वर्षको ‌ओस्कार अवार्डको सात विधामा अवार्ड जितेको छ।

ओपेनहाइमरले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायांकन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), सर्वश्रेष्ठ मौलिक संगीत (लुडविग गोरान्सन)को अवार्ड हात पारेको हो।

क्रिस्टोफर नोलनद्वारा निर्देशित यो चलचित्रले यस वर्षको ओस्कार अवार्डमा कुल १३ विधामा मनोनयनमा परेको थियो। तर, अन्य ६ विधामा अन्य चलचित्रले जित हासिल गरेका छन्।

ओपनहाइमरका निर्देशक क्रिस्टोफर नोलनलाई स्टिभन स्पिलबर्गले अवार्ड दिएका थिए। त्यस अवसरमा नोलनले आफ्नी पत्नी र यस फिल्मको सह-निर्माता एम्मा थोमसलाई धन्यवाद दिएका थिए।

उनले आफ्नी श्रीमतीलाई ‘आफ्नो सबै फिल्म र बच्चाहरूको निर्माता’ भनेर सम्बोधन गरे।